४५०० मिटर उचाइको साङ्ता गाउँमा निर्वाचनको तयारी तीव्र, हिमपातले अवरुद्ध मुस्ताङ-डोल्पा सडक खुलाउन थालियो

Share:

मुस्ताङ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वारागुङ मुक्तिक्षेत्र-५ साङ्ता मतदान केन्द्र जाने मुस्ताङ-डोल्पा सडकको हिउँ मङ्गलबारदेखि पन्छाउन सुरु गरिएको छ । हिमपातका कारण गत कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध उक्त सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छाउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र-५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले बताए ।

मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर-पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५०० मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दूरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ ।

भौगोलिक रूपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् । मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिकहरू मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरूमा आफन्तहरूको घरमा बसेका छन् ।

केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा-काठमाडौं झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरू बाहेक पूरै गाउँका घरहरूमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ ।

साङ्ता गाउँमा जम्मा १३ घरधुरी मात्रै छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरू चैत-वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालि फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ ।

केही दिन अघि साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरूको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुगमन हुन सकेको छैन ।

कमेन्ट गर्नुहोस्
Share: