
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कास्की इन्चार्ज कृष्ण थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ का उम्मेदवार रश्मि (सूर्य) आचार्यको विजयले पार्टीलाई अझ बलियो र तेजिलो बनाउने बताएका छन्।
पोखरा महानगरपालिका-९ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै थापाले एमालेको गढ झन् उचो र सुदृढ बनाउन कार्यकर्ता र जनताको साथ निर्णायक हुने उल्लेख गरे। “जनताको साथ अघि संसारको जुनसुकै शक्ति आए पनि एमालेलाई परास्त गर्न सक्दैन,” उनले दाबी गरे।
तत्कालीन पोखरा नगरपालिकाका मेयरसमेत रहेका थापाले ‘श्रम सीप जुटाऔं, पोखरालाई उठाऔं’ अभियानमार्फत सुरु गरिएको विकासको आधार अहिलेको पोखरा महानगरको जग भएको स्मरण गराए। अब पोखरालाई अझ व्यवस्थित, सभ्य र सुन्दर शहर बनाउने अभियानलाई केन्द्रीय तहबाट नीति निर्माणमार्फत अगाडि बढाउन युवा नेतृत्व आवश्यक रहेको उनले बताए।
केन्द्रीय सदस्य प्रभा कोइरालाले अग्रगामी सोच र स्पष्ट योजना दृष्टिकोणसहितका उम्मेदवार आचार्य कास्की-२ का मतदाताको रोजाइमा परिसकेको दाबी गर्दै उनको विजय सुनिश्चित जस्तै रहेको उल्लेख गरिन्।
उम्मेदवार रश्मि (सूर्य) आचार्यले मुलुकमा बढ्दो भ्रष्टाचार, कानुनी जटिलता र प्रशासनिक ढिलासुस्तीका कारण विकास प्रक्रिया सुस्त भएको बताए। सेवा प्रवाहलाई छरितो, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले नवपुस्ताले उठाउँदै आएका पारदर्शिता, रोजगारी र प्रभावकारी शासनका मुद्दा संसदमा सशक्त रूपमा उठाउने स्पष्ट पारे।
“सुशासन नै समृद्धिको आधार हो,” आचार्यले भने, “आवश्यक परे पुराना ऐन-कानुन परिमार्जन गरी समयानुकूल नयाँ कानुन निर्माणमार्फत विकासलाई गति दिन्छु।” विद्यार्थी राजनीतिबाट उदाएका वैचारिक र बौद्धिक युवा नेताका रूपमा चिनिएका आचार्यले कास्की-२ मा देखिने परिवर्तन ल्याउने दाबी गर्दै मतदाता भेटघाट कार्यक्रमलाई तीव्र बनाएका छन्।
