पोखरा एयरपोर्टबाट भारतका सहरमा उडान सुनिश्चित गर्न पोउवा संघको माग

Share:

पोखरा । नेपालस्थित भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव सुमन शेखरले सूचना प्रविधि र नवप्रवर्तन क्षेत्रमा नेपाल-भारतबीचको सहकार्य फलदायी बन्दै गएको बताएका छन्।पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले हालै भारतमा आयोजित स्टार्टअप महाकुम्भ तथा आइटी सम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण रहेको उल्लेख गरे। आगामी दिनमा पनि स्टार्टअप र कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार हुने उनले बताए।

प्रथम सचिव सुमनले भारतले नेपाली उत्पादन प्रवर्द्धन र पूर्वाधार विकासमा पुर्‍याएको सहयोगको स्मरण गर्दै हाल नेपालबाट करिब १२०० मेगावाट विद्युत आयात भइरहेको र आगामी १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत खरिद गर्ने समझदारीले नेपालको जलविद्युत विकासमा टेवा पुग्ने धारणा राखे।

कार्यक्रममा संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय सहरहरूमा सोझो उडान सुनिश्चित गर्न आग्रह गरे। विशेष गरी पोखरा-दिल्ली र पोखरा-वाराणसी सिधा हवाई सेवाको आवश्यकता औंल्याउँदै उनले भारतीय पर्यटक भित्र्याउन र दुई देशबीचको आवागमन सहज बनाउन पहल गरिदिन अनुरोध गरे।

मित्रराष्ट्र चीनको ऋण सहयोगमा निर्मित अन्तर्राष्ट्रियस्तरको विमानस्थलबाट भारतीय सहरमा उडान नहुनु चर्चाको विषय बनेको उल्लेख गर्दै कार्कीले यसबारे कूटनीतिक पहल आवश्यक रहेको बताए। उनले भारतका विभिन्न सहरमा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्न पोखराको निजी क्षेत्र तयार रहेको जानकारीसमेत दिए।

संघकी महासचिव शोभा गौतमले महिला उद्यमीका उत्पादनको बजार विस्तारमा भारतीय सहयोग अपेक्षित रहेको बताइन् भने उपमहासचिव सुदीप प्रधानाङ्गले भारतबाट आयात हुने सामानमा ढुवानी खर्च कम गर्न सहजीकरणको माग राखे। कार्यक्रममा संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: