मादी-११ मा प्रचारमा प्रयोग सवारी तोडफोड, एमालेको आपत्ति र २५ घण्टाभित्र कारबाहीको माग

Share:

पोखरा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले कास्कीको मादी गाउँपालिका-११ मा मतदाता भेटघाटका क्रममा प्रचारमा प्रयोग गरिएका सवारीसाधन तोडफोड गरिएको घटनाप्रति कडा आपत्ति जनाएको छ।

कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी, क्षेत्र नम्बर १ का संयोजक दर्शन लामा ले बिहीबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा लोकतन्त्रमा विचार, नीति र एजेण्डामार्फत प्रतिस्पर्धा हुनुपर्नेमा तोडफोड, निषेध र निर्वाचन बिथोल्ने प्रयास हुनु अत्यन्तै निन्दनीय विषय भएको उल्लेख गरेका छन्।

एमालेका अनुसार उम्मेदवार बैनबहादुर अधिकारी क्षेत्री सहितको टोली मादी गाउँपालिका-११ उपल्लो साप्लेमा मतदाता भेटघाटमा गइरहेका बेला पार्किङमा राखिएका दुई वटा सवारीसाधन तोडफोड गरिएको थियो। कार्यक्रम सञ्चालन भइरहेका क्रममा सवारीमा क्षति पुर्‍याइएको दाबी गरिएको छ।

विज्ञप्तिमा घटनामा संलग्न व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन माग गर्दै २५ घण्टाभित्र कारबाही प्रक्रिया अघि बढाउन सुरक्षा संयन्त्रको ध्यानाकर्षण गराइएको छ। एमालेले दोषीलाई कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ।

साथै, निर्वाचनलाई शान्त, मर्यादित र लोकतान्त्रिक ढंगले सफलतापूर्वक सम्पन्न हुने वातावरण निर्माण गर्न सबै राजनीतिक दल र सरोकारवालालाई संयमता अपनाउन आग्रह गरिएको छ। चुनावी अभियान तीव्र भइरहेका बेला मादी-११ को घटनाले कास्की-१ मा राजनीतिक माहोल थप तातेको छ।

कमेन्ट गर्नुहोस्
Share: