
पोखरा । नेपाली कांग्रेसका सभापति थापाले सरकार गठन भएको पहिलो दिनदेखि काम गर्न सक्ने, अनुभव र तयारी भएको टिमलाई मात्र जिम्मेवारी दिनुपर्ने बताएका छन्। “अब हामीसँग सिक्ने-सिकाउने समय छैन,” उनले भने, “सरकारमा गएकै दिनदेखि परिणाम दिन सक्ने टोली चाहिन्छ।”
उनका अनुसार आफूले विगत सात वर्षदेखि सरकार सञ्चालनका लागि तयारी गरिरहेका छन् र सरकारमा पुगेपछि के-के गर्ने भन्ने स्पष्ट कार्ययोजना तयार छ। सरकारमा गएर मात्र सिक्ने र योजना बनाउने प्रवृत्तिले देशलाई फेरि पछाडि धकेल्ने भन्दै उनले सिकेर तम्तयार भएको टिमलाई देशको बागडोर सुम्पनुपर्ने बताए।
थापाले नेपाली कांग्रेस बाहेक अन्य दलसँग सबैलाई समेटेर अघि बढ्ने क्षमता नरहेको दाबी गरे। “पुराना होस् वा नयाँ, सबैलाई मिलाएर लैजान सक्ने क्षमता कांग्रेससँग मात्रै छ,” उनले भने।
उनले भावी कांग्रेस सरकारले शक्तिशाली आयोग गठन गरेर हरेक काण्डको एक–एक छानबिन गर्ने प्रतिवद्धता जनाए। आफ्नै नेता वा आफन्त भए पनि अनुसन्धानबाट पछि नहट्ने स्पष्ट पार्दै उनले कांग्रेस नेतृत्वको सरकारबाट नयाँ काण्ड नहुने र अरूलाई पनि गर्न नदिने दाबी गरे।
