
पोखरा । कास्की जिल्ला प्रशासन कार्यालयले फागु पूर्णिमा (होली) र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक स्थलमा भीडभाड, सांगीतिक कार्यक्रम र र्यालीमा रोक लगाएको छ। प्रशासनले शुक्रबार जारी सूचनामा निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी खुला सडक तथा सार्वजनिक स्थानमा मेला, महोत्सव, स्टेज प्रोग्राम, कन्सर्ट र कल्चरल कार्यक्रम गर्न अनुमति नदिने स्पष्ट पारेको छ। “निर्वाचन नसकिएसम्म यस्ता गतिविधि नगर्न र नगराउन सचेत रहनुहोस्,” सूचनामा भनिएको छ।
प्रशासनले होली पर्वलाई सभ्य र धार्मिक मूल्यमान्यताको संरक्षण गर्दै मनाउन आग्रह गर्दै रङ दल्ने, लोला हान्ने, पानी छ्याप्ने, बाटो अवरोध गर्ने वा सवारी साधनबाट रकम असुल्ने जस्ता उच्छृंखल गतिविधि कानुन बमोजिम दण्डनीय हुने चेतावनी दिएको छ। त्यस्तै, मोटरसाइकल पड्काउने, अभद्र व्यवहार गर्ने, अनावश्यक हर्न बजाउने, दुई वा चार पाङ्ग्रे सवारी साधनको र्याली निकाल्ने जस्ता गतिविधि पूर्णरूपमा निषेध गरिएको छ।
निर्वाचन आचारसंहिता २०८२ अनुसार कुनै पनि व्यक्ति, दल वा उम्मेदवारले झन्डा, चिन्ह, लोगो, टोपी, भेष, ज्याकेट, टिसर्ट, ब्याच, मास्क वा लकेट जस्ता सामग्री प्रयोग गर्न पाउने छैनन्। यस्ता सामग्री बोकेका वा वितरण गर्नेको अवस्था पाइएमा कारबाही हुने चेतावनी प्रशासनले दिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीले राजनीतिक दल, उम्मेदवार, कर्मचारी, मतदाता, निजी क्षेत्र र सञ्चार माध्यमलाई समेत आचारसंहिता पालन गरी निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न सहयोग गर्न अनुरोध गरेका छन्।

