कांग्रेसको घरदैलो अभियान जारी: तिलक रानाभाटसँग हजारौं युवाको सहभागिता, युवा–केन्द्रित विकासमा जोड

Share:

पोखरा । पोखरा महानगरपालिका-३२ मा आज भएको चुनावी घरदैलो अभियानमा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार तिलक रानाभाटसँग हजारौँ युवाको उल्लेख्य सहभागिता देखिएको छ। बिहानदेखि साँझसम्म सञ्चालन गरिएको कार्यक्रममा स्थानीय टोलबस्ती, युवा समूह, महिला समूह तथा पार्टीका कार्यकर्ताको बाक्लो उपस्थिति रह्यो। घरदैलोका क्रममा रानाभाटले युवालाई विकासको केन्द्रमा राख्दै “युवा सक्रियता बिना दिगो विकास सम्भव छैन” भन्ने सन्देश दिए। शिक्षा, रोजगारी र उद्यमशीलतामार्फत युवालाई उत्पादनशील शक्तिका रूपमा अघि बढाउने योजना आफ्नो प्राथमिकतामा रहेको उनले स्पष्ट पारे।

घरघरमै संवाद

वडा नं. ३२ का तल्लोगगनगौडा, लामेआहाल, मजुवा, खुदीखोला, मालमुल, राजाको चौतारा, मालेपाटन, ढोडवेसी, सातमुहाने र खोलाको छेउ लगायतका बस्तीमा पुगेर रानाभाटले नागरिकसँग प्रत्यक्ष संवाद गरे। स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा सुकुम्बासी व्यवस्थापनका विषयमा सुझाव र गुनासा संकलन गरिएको उनले बताए।

“क्षेत्र नम्बर १ बाट जनताको सेवामा समर्पित भएर दिगो विकासको स्पष्ट योजना लिएर अघि बढेको छु,” रानाभाटले भने।रानाभाटले विजयी भए सुकुम्बासी समस्याको व्यवस्थित समाधान, लामेआहामा प्रस्तावित क्षेत्रीय बसपार्क निर्माण
गण्डकी विश्वविद्यालयको विस्तार, रुपातालको समग्र विकास, कृषि आधुनिकीकरण र व्यवसायमुखी उत्पादन माहुरीपालन प्रवर्द्धन तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने योजना अघि बढाउने प्रतिबद्धता जनाए ।

उनले स्थानीय स्रोत-साधनको अधिकतम उपयोगमार्फत आत्मनिर्भर वडा निर्माणमा जोड दिए। कृषकलाई केन्द्रमा राखी आयआर्जन अभिवृद्धि, सडक पहुँच विस्तार तथा स्थानीय उद्योग प्रवर्द्धनमार्फत वडा-३२ को अर्थतन्त्र सुदृढ गर्न सकिने उनको भनाइ थियो। कार्यक्रममा केन्द्रीय सदस्य कृष्ण केसी, वडा सभापतिलगायत पार्टीका विभिन्न भ्रातृ संगठनका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

कमेन्ट गर्नुहोस्
Share: