ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव फेला, ‘मनिषा विश्वकर्मा’ ट्याटु लेखिएको भेटिएपछि…

Share:

पोखरा। पोखरा-१७ ड्यामसाइड नजिकै पुलमुनि सुटकेसभित्र तन्नाले बेरेको अवस्थामा एक युवतीको शव फेला परेको छ। आइतबार बिहान शंकास्पद अवस्थामा रहेको सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीका अनुसार फेवातालको ड्यामबाट निस्कने फुस्रे खोलामा बनेको नयाँ पुलमुनि फालिएको सुटकेस खोलेर हेर्दा करिब २२ देखि २५ वर्ष उमेरकी देखिने युवतीको शव फेला परेको हो। शव तन्नाले बेरिएको अवस्थामा थियो।

युवतीको हातमा ‘मनिषा विश्वकर्मा’ लेखिएको ट्याटु खोपिएको छ। साथै, साथबाट मेडिकल कार्डसमेत बरामद भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मा राखिएको छ।

प्रारम्भिक अनुसन्धानमा ती युवती ड्यामसाइडकै एक घरमा कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ। उनीहरू श्रीमान्–श्रीमती बनेर कोठा भाडामा लिएका थिए र जापानी भाषा अध्ययन गर्ने बताएका थिए। घटनापछि श्रीमान् भनिएका व्यक्ति फरार रहेका छन्। उनको आधार कार्ड भारतको सिलगुडीको ठेगानामा दर्ता भएको खुलेको छ।

मृतकका परिवारजन तथा आफन्त हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ। स्थानीयवासीमा त्रास फैलिएको छ भने घटनाले क्षेत्रको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। प्रहरीले शंकास्पद व्यक्तिको खोजी तीव्र पारेको जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: