काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगले सोमबार अपराह्नसम्म देशभरका सबै मतदान केन्द्रमा खटिने कर्मचारी र सुरक्षाकर्मीलाई अनिवार्य रूपमा पुग्न निर्देशन दिएको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार, दुर्गम तथा विकट क्षेत्रका दुई सयभन्दा बढी मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मीको टोली यसअघि नै पुगिसकेको छ। विशेष गरी सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सडक सुविधा नपुगेका केन्द्रहरूलाई प्राथमिकतामा राखेर परिचालन गरिएको थियो। आइतबारसम्म करिब ३ सय दुर्गम केन्द्रमा टोली पुगिसकेको आयोगले जनाएको छ।
“सोमबार बेलुकीसम्म सबै मतदान केन्द्रमा कर्मचारी र सुरक्षाकर्मी पुगिसक्नुपर्छ भन्ने निर्देशन दिइसकेका छौं,” प्रवक्ता भट्टराईले भने, “निर्वाचन सामग्री बुझेर केन्द्रमा पुगेपछि उनीहरूले आवश्यक प्रारम्भिक कामसमेत सुरु गर्नुपर्ने हुन्छ।”
के-के गर्नुपर्नेछ मतदान अधिकृतले ?
मतदान केन्द्र पुगेपछि मतदान अधिकृतले चारकिल्ला तोकेर केन्द्रको हाता निर्धारण गर्ने सूचना टाँस्ने, सर्वपक्षीय बैठक बोलाउने, प्रचारप्रसार रोकिएको सूचना जारी गर्ने, मतदान केन्द्रको व्यवस्थापन मिलाउने, मतदान अवधिभर पटक-पटक सर्वपक्षीय बैठक बस्ने तथा मतपेटिकाको मुचुल्का तयार गर्ने काम गर्नेछ ।
मतदान सकिएपछि सबै दलका प्रतिनिधिको उपस्थितिमा मतपेटिका सिलबन्दी गरी निर्वाचन अधिकृतको कार्यालयमा बुझाएपछि मात्रै केन्द्रको जिम्मेवारी पूरा हुनेछ। मतपत्रसहितका सम्पूर्ण निर्वाचन सामग्रीको सुरक्षा नेपाल प्रहरी ले गर्नेछ। आयोग र प्रहरी मुख्यालयले मतदान अधिकृत र सामग्रीलाई २४ सै घण्टा निगरानीमा राख्न निर्देशन दिएका छन्।
