
काठमाडौं । मध्यपूर्व तनावग्रस्त छ । मंगलबार नेपाली समय अनुसार (बिहान ४ बजे) यूएईको आबुदाबी नजिकैको आकाशमा निरन्तर पड्किरहेको छ । मध्यपूर्वमा जारी तनाव र इरानले सुरु गरेको आक्रमणको सिलसिलाका बिच कतारको राजधानी दोहातर्फ निरन्तर आक्रमण भइरहेको हो । मध्यपूर्वमा निरन्तर पड्किरहेका द्वन्द्व र अस्थिरताका खबरहरूले विदेशमा रहेका नेपालीहरूलाई चिन्तित बनाएको छ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा बसोबास गर्दै आएका केही नेपालीहरू भन्छन्,“स्थिति निरन्तर बिग्रँदै गएको छ, वरिपरि तनाव र त्रासको माहोल छ। हामी असुरक्षित महसुस गरिरहेका छौँ।”
टाढा स्वदेश छोडेर रोजगारीका लागि आएका नेपालीहरू अहिले सुरक्षा, परिवारको चिन्ता र भविष्यको अन्योलबीच दिन बिताइरहेका छन्। उनीहरूको एउटै अपेक्षा छ-सुरक्षा, स्थिरता र छिट्टै शान्ति स्थापना होस्।
मध्यपूर्वको अस्थिरताले हजारौँ नेपाली कामदारको जीवनमा प्रत्यक्ष असर पारेको छ, र उनीहरूको आवाजले विश्व समुदायलाई मानवीय पक्षतर्फ ध्यान दिन आग्रह गरिरहेको छ।
“निरन्तर पड्किरहेको छ । हामी के गर्ने कहाँ जाने भन्नेमा पर्यौ । निरन्तर मोबाइलमा अलर्ट आइरहेको छ,” बैतडीका रोसन विष्टले भने ।
उनले तनावबीच आफूहरू असुरक्षित महसुस गरिरहेको बताए । साथै, राज्यले दुबई लगायतका देशमा भएका नेपालीको उद्दार गर्नुपर्ने उनको भनाइ छ ।
विस्फोटका कारण मध्यपूर्वका शहरबासीहरूमा त्रास फैलिएको भएको छ । अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको जानकारी प्राप्त नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इरानमाथि भइरहेको आक्रमणको तीव्रता र इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्युले यस क्षेत्रमा तनाव चरम अवस्थामा पुगेको हो ।
स्थानीय समय अनुसार राति करिब १ः४० बजे दोहाको आकाशमा पाँच वटा ठूला विस्फोटका आवाज गुन्जिएको समाचार अलजजिराले प्रकाशित गरेको हो ।
उता, अमेरिकी विदेश मन्त्रालय (स्टेट डिपार्टमेन्ट) ले मध्यपूर्वका एक दर्जनभन्दा बढी देशहरूमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल ती देश छोड्न आग्रह समेत गरिसकेको छ ।
