कास्कीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा: ३६५ वटै केन्द्रमा सामग्री पुग्यो, २ हजारभन्दा बढी कर्मचारी परिचालित

Share:

पोखरा । पोखरास्थित प्रदेश निर्वाचन कार्यालय पोखरा ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका सबै ३६५ मतदान केन्द्रमा निर्वाचन सामग्री सफलतापूर्वक पुर्‍याएको छ। अब जिल्लामा मतदान गर्न मात्र बाँकी रहेको निर्वाचन अधिकारीहरूले बताएका छन्।

प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल का अनुसार मतपत्रसहित सम्पूर्ण सामग्री सम्बन्धित मतदान अधिकृत र सहायक अधिकृतले बुझेर आ-आफ्नो केन्द्रमा पुगिसकेका छन्। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ, जिल्लामा शान्ति सुरक्षा अवस्था सन्तोषजनक रहेको उनले जानकारी दिए।

पोखरा-३२ स्थित चन्द्रज्योति आधारभूत विद्यालय मतदान केन्द्रका मतदान अधिकृत गुणराज अधिकारी ले सोमबार साँझ नै आफूहरू सम्पूर्ण सामग्रीसहित केन्द्रमा पुगेको बताए। उनका अनुसार अब सूचना टाँस, सर्वदलीय बैठक लगायतका पूर्वतयारीका काम अघि बढाइनेछ। कास्कीमा १५३ मतदानस्थलअन्तर्गत ३६३ नियमित र दुई अस्थायी गरी ३६५ मतदान केन्द्र कायम छन्।

निर्वाचनमा कुल २,१९० कर्मचारी खटिनेछन् भने १,०९२ स्वयंसेवक परिचालन गरिनेछ। ५०० भन्दा कम मतदाता भएका केन्द्रमा पाँच जना कर्मचारी रहने व्यवस्था छ, एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी र एक सहयोगी कर्मचारी।

कारागारका कैदीबन्दीका लागि कारागारभित्रै मतदान केन्द्र तोकिएको छ। साथै, मतदानमा नखटिने कर्मचारीले जिल्ला समन्वय समितिस्थित केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ।

जिल्लामा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४९ जना उम्मेदवार चुनावी मैदानमा छन्। कास्कीमा कुल मतदाता संख्या ३,०८,५७२ रहेको छ भने २,८६१ जना अस्थायी मतदाता छन्। अस्थायी मतदातामध्ये ७२० महिला र २,१४१ पुरुष रहेका छन्।

कमेन्ट गर्नुहोस्
Share: