
इजरायल-अमेरिकाको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह आजदेखि राजधानी तेहरानमा आयोजना गरिने भएको छ। इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उक्त समारोह आज राति स्थानीय समय १० बजे सुरु हुनेछ र अन्तिम संस्कार गर्नुअघि तीन दिनसम्म जारी रहनेछ।
इरानको सरकारी समाचार एजेन्सी फार्सका अनुसार खामेनीको शव मसहदमा दाहसंस्कार गरिनेछ। खामेनीको जन्म पनि सन् १९३९ मा मसहदमै भएको थियो।
खामेनीको अन्त्येष्टिपछि मात्र इरानको अर्को सर्वोच्च नेता घोषणा गरिनेछ। इरानका अधिकारीलाई उद्धृत गर्दै द न्युयोर्क टाइम्सले खामेनीका छोरा मोज्तबा खामेनी नयाँ सर्वोच्च नेता बन्ने दौडमा सबैभन्दा अगाडि रहेको उल्लेख गरेको छ।
यसैबिच इजरायलका रक्षामन्त्री इजरायल काट्जले ‘इजरायललाई नष्ट गर्ने’, ‘अमेरिकालाई धम्की दिने’ र ‘इरानी जनतालाई दबाउने’ काम जारी राखे इरानमा जो नेता बने पनि ऊ ‘प्रत्यक्ष निसाना’मा पर्ने चेतावनी दिएका छन्।
