कास्कीमा मतपेटिका संकलन तीव्र, सहमति भए आजैदेखि मतगणना सुरु हुने

Share:

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतदान सकिएसँगै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा मतपेटिका संकलन गर्ने काम तीव्र रूपमा भइरहेको छ।

मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासेका अनुसार केहीबेरभित्रै सबै मतदान केन्द्रबाट मतपेटिका सम्बन्धित मतगणना स्थलमा संकलन गरिसक्ने तयारी गरिएको छ। उनले राजनीतिक दलहरूबीच सहमति भए आजैदेखि मतगणना सुरु गरिने जानकारी दिएका छन्।

निर्वाचन कार्यालयले कास्कीका तीनवटै क्षेत्रका लागि अलग-अलग मतगणना स्थल तय गरेको छ। क्षेत्र नम्बर १ को मतगणना पोखरा–१२ स्थित वडा कार्यालयमा गरिनेछ। त्यसैगरी क्षेत्र नम्बर २ को मतगणना ड्यामसाइडस्थित सिँचाइ डिभिजन कार्यालयमा र क्षेत्र नम्बर ३ को मतगणना मालेपाटनस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमै हुने व्यवस्था मिलाइएको छ।

मतगणनालाई सुरक्षित र व्यवस्थित बनाउन सबै स्थलमा सीसीटीभी क्यामेरा र तारजालीको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएसँगै अब मतपेटिका संकलन र दलहरूको सहमतिपछि मतगणना सुरु हुने तयारी गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: