
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना देशभर जारी रहँदा प्रारम्भिक परिणामले नयाँ राजनीतिक समीकरणको संकेत दिएको छ। प्रारम्भिक रुझानअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुईतिहाइ बहुमत नजिक पुग्ने सम्भावना देखिएको छ।
मतगणनाको सुरुवातदेखि हालसम्म देखिएको ट्रेण्डअनुसार रास्वपाले प्रत्यक्षतर्फ ७० प्रतिशतभन्दा बढी सिट जित्ने संकेत देखिएको छ। हाल मतगणना भइरहेका १४८ निर्वाचन क्षेत्रमध्ये रास्वपाले ३ सिटमा जित हात पारिसकेको छ भने १०७ सिटमा अग्रता कायम गरेको छ।
देशभर प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ १६५ सिटमा प्रतिस्पर्धा भएको थियो। तीमध्ये रास्वपाका उम्मेदवार १६३ सिटमा मात्रै मैदानमा थिए। प्रारम्भिक रुझान यही गतिमा कायम रहेमा रास्वपाले प्रत्यक्षतर्फ मात्र ११५ भन्दा बढी सिट जित्ने सम्भावना देखिएको छ।
प्रत्यक्षतर्फ खसेको मतकै ट्रेण्डलाई पछ्याउँदै समानुपातिकतर्फ पनि रास्वपाले करिब ६० प्रतिशत मत प्राप्त गर्ने अनुमान गरिएको छ। यदि यो रुझान अन्तिम परिणामसम्म कायम रह्यो भने समानुपातिकतर्फको ११० सिटमध्ये कम्तीमा ६६ सिट रास्वपाले जित्न सक्ने देखिन्छ।
यसरी प्रत्यक्ष र समानुपातिक दुवैतर्फको सम्भावित परिणाम जोड्दा रास्वपाको कुल सिट संख्या १८१ भन्दा माथि पुग्ने आकलन गरिएको छ। प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि २७५ सिटमध्ये १८४ सिट आवश्यक हुन्छ।
प्रारम्भिक मतगणनाको रुझानलाई आधार मान्दा रास्वपा दुईतिहाइ बहुमत नजिक पुग्ने सम्भावना बलियो देखिएको छ। यदि यही ट्रेण्ड अन्तिम परिणामसम्म कायम रह्यो भने नेपालको संसदीय राजनीतिमा ऐतिहासिक परिवर्तन देखिने विश्लेषकहरूको भनाइ छ।
