
काठमाडौं । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपक बोहराले फराकिलो मतान्तरसहित शानदार जित दर्ता गरेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रकाश साउद (एनपी) लाई २३ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्। बोहराले ३३ हजार ९५२ मत प्राप्त गर्दै प्रतिनिधिसभामा आफ्नो स्थान सुरक्षित गरेका छन्।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका ३८ वर्षीय बोहरा डडेलधुराको अमरगढी नगरपालिका–चुम्सालमा जन्मिएका हुन् भने हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका स्थायी बासिन्दा हुन्।
उनले करिब दुई दशक पत्रकारितामा सक्रिय भूमिका निर्वाह गरेका छन्। नेपाल टेलिभिजनदेखि न्यूज २४ टेलिभिजनसम्म काम गरेका उनले लामो समय चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ को निर्माताको रूपमा पनि काम गरेका थिए।
पर्दा पछाडि बसेर कार्यक्रमको लेखन र उत्पादनमा सक्रिय बोहराले पत्रकारिताको क्रममा समाजका धेरै समस्या उजागर गरे। तर समस्या देखाएर मात्र परिवर्तन सम्भव नहुने महसुस भएपछि उनी राजनीतिमा आएको बताउँछन्।
“हामीले समस्या देखायौं, तर समाधान गर्ने ठाउँमा रहेकाहरूले सुनेनन्,” बोहराले भने, “पत्रकारितामा हुँदा परोपकारी काम पनि गर्यौं, बस्ती बसायौं, अन्यायमा परेकालाई न्याय दिलाउन पहल गर्यौं। तर नीति निर्माण तह नै फोहोर भएपछि बाहिरबाट कराएर मात्रै सफा हुँदोरहेनछ। त्यसैले त्यो फोहोर सफा गर्न आफैं कुचो बोकेर राजनीतिमा आएको हुँ।”
निर्वाचन प्रचारका क्रममा कञ्चनपुर-२ का गाउँबस्ती घुम्दा उनले आधारभूत पूर्वाधारकै अभाव देखेको बताए। उनका अनुसार धेरै ठाउँमा अझै पनि खानेपानी, बिजुली र पक्की सडकको समस्या गम्भीर छ।
“नेताको घरअगाडि पिच सडक छ, तर जनताको घर पुग्ने पाँच किलोमिटर बाटो वर्षौंदेखि कच्ची छ,” उनले भने, “निकुञ्ज विस्थापितहरू २६/२७ वर्षदेखि शिविरमै जीवन बिताइरहेका छन्, तर उनीहरूलाई अझै लालपुर्जा दिइएको छैन।”
युवा विदेश पलायन रोक्ने विषयलाई मुख्य एजेन्डा बनाएर चुनावी मैदानमा उत्रिएका बोहराले अब संसद्मा पुगेपछि यही मुद्दालाई प्राथमिकताका साथ उठाउने बताएका छन्।
