
काठमाडौं। सुदूरपश्चिम प्रदेशका प्रतिनिधिसभाका १६ निर्वाचन क्षेत्रमध्ये हालसम्म ११ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ। केही क्षेत्रमा मतगणना जारी छ। हालसम्म सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेको छ। जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेको छ । यस्तै नेपाली कांग्रेसले २, नेकपा एमालेले २ सिट जितेको छ । बझाङ, दार्चुला र अछाम-१ मा भने रास्वपाका उम्मेदवार पराजित भएका छन्। अछाम-२ मा पनि रास्वपाका उम्मेदवार पछि परेका छन्।
सार्वजनिक नतिजा अनुसार कैलाली क्षेत्र नम्बर १ मा रास्वपाकी कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त गर्दै विजयी भएकी छन् भने कैलाली९ ५ मा पनि रास्वपाका आनन्द चन्द ३१ हजार ९५३ मतसहित विजयी भएका छन् । कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका दीपक बोहरा ३३ हजार ९५२ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। डोटीमा भने नेपाली कांग्रेसका भरत खड्का १४ हजार ८९७ मत ल्याएर विजयी भएका छन् भने अछाम-१ मा नेपाली कांग्रेसका भरत स्वाँर १० हजार ७५९ मत प्राप्त गर्दै विजयी भएका छन्।बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ५४३ मतसहित निर्वाचित भएका छन्। डडेल्धुरामा भने ३४ वर्षपछि नेपाली कांग्रेसको किल्ला ढलेको छ। उक्त क्षेत्रमा रास्वपाका उम्मेदवार डा.ताराप्रसाद जोशी १९ हजार १३१ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नैनसिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका थिए। जोशीले ७ हजार १० मतान्तरले महरलाई पराजित गरेका हुन्। कैलाली क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका जगतप्रसाद जोशी भारी मतान्तरसहित विजयी भएका छन् । उनले २० हजार ३५९ मत प्राप्त गरेका छन्। कञ्चनपुर क्षेत्र नम्बर ३ मा ज्ञानेन्द्रसिंह महता विजयी भएका छन्। उनले कांग्रेसका उम्मेदवार हरिप्रसाद बोहरालाई १७ हजार ६७५ मतान्तरले पराजित गरेका हुन्। कञ्चनपुर-१ मा रास्वपाका जनकसिंह धामी २४ हजार ३३२ मतसहित निर्वाचित भएका छन्।
दार्चुलामा नेकपा एमालेका गणेश ठगुन्ना १८ हजार ८९१ मत प्राप्त गर्दै विजयी भएका छन्। यसैबिच बैतडी, अछाम-२, कैलाली-४, कैलाली-२ र बाजुरामा मतगणना जारी छ । बैतडीमा रास्वपाले अग्रता लिएको छ भने अछाम-२ मा एमाले अगाडि रहेको छ । कैलाली-४ मा रास्वपाको जित लगभग सुनिश्चित भएको छ। बाजुरामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ।
