
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभूतपूर्व सफलता हासिल गर्दै देशको राजनीतिमा नयाँ इतिहास रचेको छ। ७७ मध्ये ४० जिल्लाका सबै निर्वाचन क्षेत्र जित्दै रास्वपाले क्लिन स्वीप गरेको छ भने देशव्यापी रूपमा दुईतिहाइ बहुमतनजिक पुगेको छ। प्रत्यक्षतर्फ १६५ सिटमध्ये मतगणना लगभग टुंगिन लाग्दा रास्वपाले १२२ सिट जितिसकेको छ। प्रत्यक्षमा दुईतिहाइका लागि आवश्यक ११० सिटभन्दा धेरै जित हासिल गर्दै रास्वपाले परम्परागत दलहरूको वर्चस्व तोडेको छ।
यसअघि २०७९ को निर्वाचनमा रास्वपा २१ सिटसहित चौथो शक्ति बनेको थियो। त्यतिबेला प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ १३ सिट जितेको थियो। तर छोटो समयमै पार्टीले देशव्यापी विस्तार गर्दै अहिले ठूलो राजनीतिक शक्ति बनेको छ। पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को संयुक्त नेतृत्वमा चुनाव लडेको रास्वपाले यसपटक देशभर लहर नै सिर्जना गरेको विश्लेषण गरिएको छ। निर्वाचनअघि नै बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर पार्टी चुनावी मैदानमा उत्रिएको थियो।
पुराना दलको गढ भत्कियो
रास्वपाको लहरका कारण परम्परागत दलहरू कमजोर बनेका छन्। नेपाली कांग्रेस ले प्रत्यक्षतर्फ १७ सिट मात्रै जितेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले ७ सिट जितेको छ र केही क्षेत्रमा अग्रता लिएको छ। त्यस्तै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले ७ सिट जितेको छ।
नयाँ शक्ति श्रम संस्कृति पार्टी ले पनि ३ सिट जितेर चासो बढाएको छ। यो पार्टीका नेता हर्क साम्पाङ को नेतृत्वमा केही समयअघि मात्रै गठन भएको थियो। स्वतन्त्रतर्फबाट महावीर पुन पनि निर्वाचित भएका छन्।
देशका सातै प्रदेशमा रास्वपाको प्रभाव देखिएको छ। कोशी प्रदेशमा झापा, मोरङ, उदयपुर र ओखलढुंगासहित ४ जिल्ला क्लिन स्वीप भएका छन्। मधेश प्रदेशमा सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्सासहित ६ जिल्ला क्लिन स्वीप भएका छन्। धनुषामा भने उम्मेदवारी खारेजको कारण विवादित अवस्था बनेको छ।
बागमती प्रदेशमा काठमाडौंका १० वटै क्षेत्र, ललितपुर, नुवाकोट, चितवन, भक्तपुर, काभ्रे, मकवानपुरलगायत ११ जिल्ला क्लिन स्वीप भएका छन्। गण्डकी प्रदेशमा कास्की, तनहुँ, गोरखा, स्याङ्जा, नवलपुर, बागलुङ, पर्वत र लमजुङ गरी ८ जिल्ला क्लिन स्वीप भएका छन्। मनाङ र मुस्ताङ मात्रै कांग्रेसले जितेको छ।
लुम्बिनी प्रदेशमा रुपन्देही, कैलाली, दाङ, गुल्मी, बर्दिया, नवलपरासी, अर्घाखाँची र प्युठान गरी ८ जिल्ला क्लिन स्वीप भएका छन्। सुदूरपश्चिममा कञ्चनपुर, बैतडी र डडेल्धुरामा ३ जिल्ला क्लिन स्वीप भएका छन्। देशभर बलियो लहर देखिए पनि कर्णाली प्रदेशमा भने रास्वपा अपेक्षाकृत कमजोर देखिएको छ। १२ निर्वाचन क्षेत्रमध्ये सुर्खेत-२ मा मात्रै रास्वपाका रमेश सापकोटा विजयी भएका छन्।
दुईतिहाइको सम्भावना
२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइका लागि १८४ सिट आवश्यक पर्छ। प्रत्यक्षमा १२५ सिट नजिक पुगेको रास्वपाले समानुपातिकमा करिब ५९ सिट जिते स्पष्ट दुईतिहाइ बहुमत पुग्ने अनुमान गरिएको छ। नेपालको इतिहासमा २०१५ सालको चुनावपछि मात्रै दुईतिहाइ बहुमत आएको थियो, जब नेपाली कांग्रेस ले १०९ मध्ये ७४ सिट जितेको थियो।
