
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी क्षेत्रनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। जसका कारण यतिबेला (मंगलबार बिहान) पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ भने देशका बाँकी स्थानमा आंशिक बादल लागेको छ।
मौसम महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका थोरै स्थान, कर्णाली प्रदेश तथा लुम्बिनी प्रदेशका तराई भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
यसैबिचआज दिउँसो काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए। १२/१ बजेपछि काठमाडौँ उपत्यकामा पनि हल्का वर्षा हुने सम्भावना छ उनले मंगलबार बिहान साढे ८ बजेतिर नेपालखबरसँग भने यतिबेला काठमाडौँ उपत्यकाको आकाश पनि बादलले ढाकेको छ।
मौसमविद् पुडासैनीका अनुसार आज दिनभर काठमाडौँ उपत्यकामा पनि मौसम खुल्ने सम्भावना छैन। मौसम महाशाखाका अनुसार आज रातिपनि गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी र हिमाली क्षेत्रमा साधरणतया बादल लाग्नेछ भने बाँकी स्थानमा आंशिक बादल लाग्नेछ। अनि कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ।
