
पोखरा । कास्की प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका-९ शान्तिबनबाट ४३ वर्षीय सुनिल कमरलाई लागूऔषधसहित पक्राउ गरिएको हो। मंगलबार साँझ करिब ५ बजे उक्त क्षेत्रमा लागूऔषध बिक्री-वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले उनको शरीर तथा साथमा रहेको सामान खानतलासी गर्दा डाईजेपाम ४६० एम्पुल, फेनारगन ४८१ एम्पुल र ब्रुफिन ४८२ एम्पुल गरी कुल १ हजार ४२३ एम्पुल लागूऔषध बरामद गरेको जनाएको छ। साथै उनको साथबाट एक थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका कमरलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
