प्रत्यक्षतर्फ रास्वपा बहुमतमा : कांग्रेस १८, एमाले ९ सिटमा खुम्चिए

195
0
Share:

काठमाडौं ।  फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका ३ हजार ४ सय ६ उम्मेदवारमध्ये १६५ जना निर्वाचित भएका छन्।

सार्वजनिक नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ सिट जित्दै अभूतपूर्व सफलता हासिल गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा (एमाले) ले ९ सिट हात पारेको छ। त्यस्तै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिट जित्दा श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एक स्वतन्त्र उम्मेदवारले एक/एक सिट जितेका छन्।

निर्वाचनमा विजयी उम्मेदवारसँगै १६५ निर्वाचन क्षेत्रमा निकटतम प्रतिस्पर्धी पनि तय भएका छन्। तीमध्ये सबैभन्दा धेरै नेपाली कांग्रेस ८४ स्थानमा दोस्रो स्थानमा रहेको छ। नेकपा (एमाले) ४१ स्थानमा र नेकपा १७ स्थानमा निकटतम प्रतिस्पर्धी बनेका छन्।

रास्वपाले जितेका १२५ क्षेत्रमध्ये ७३ स्थानमा नेपाली कांग्रेस दोस्रो स्थानमा देखिएको छ। त्यस्तै कांग्रेसले जितेका १८ क्षेत्रमध्ये ८ क्षेत्रमा एमाले दोस्रो स्थानमा छ भने ६ क्षेत्रमा नेकपा दोस्रो बनेको छ। कांग्रेसले जितेका दुई क्षेत्रमा रास्वपा दोस्रो बनेको छ भने दुई क्षेत्रमा श्रम संस्कृति पार्टी दोस्रो स्थानमा रहेको छ।

निर्वाचन परिणामले रास्वपालाई प्रत्यक्षतर्फ सबैभन्दा बलियो शक्ति बनाएको देखिएको छ। अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवारले प्रतिस्पर्धी दलका प्रभावशाली नेताहरूलाई समेत फराकिलो मतान्तरले पराजित गरेका छन्।

यसपटकको निर्वाचनले परम्परागत दलहरूको प्रभाव कमजोर बन्दै गएको र नयाँ शक्तिको उदय भएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ।

प्रत्यक्षतर्फ स्पष्ट बहुमतसहित रास्वपाले प्रतिनिधि सभामा सबैभन्दा ठूलो शक्ति बनेको छ भने अन्य दलहरू धेरै स्थानमा निकटतम प्रतिस्पर्धीमा सीमित भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: