‘पुराना दलको किल्ला कास्की ढालेका छौं, अब जनताको सेवा गर्छौं’

Share:

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले राजनीति आफूहरूका लागि सत्ता होइन, सेवा र जिम्मेवारीको माध्यम भएको बताएका छन्। जनताको सपना र आकांक्षा पूरा गर्ने भरिया बनेर काम गर्ने उनीहरूको प्रतिबद्धता छ। रास्वपा कास्की जिल्ला समितिले बुधबार पोखरामा आयोजना गरेको शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै निर्वाचित जनप्रतिनिधि तथा पार्टीका नेताहरूले यस्तो धारणा व्यक्त गरेका हुन्।

कार्यक्रममा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य  खडकराज पौडेल ‘गनेस’ ले पार्टीभित्र कुनै पनि प्रकारको गुटबन्दी र फुट स्वीकार्य नहुने स्पष्ट पारे। उनले राजनीति आफ्नो लागि नभई मानव सेवाका लागि भएको बताउँदै भने, “अरू दलहरूले नेतालाई भगवान बनाइदिए र जनतालाई झोले बनाए। तर हामी भने जनताको सपना बोक्ने भरिया र झोले हौं।”

राजनीतिलाई आध्यात्मिक जिम्मेवारीसँग तुलना गर्दै उनले चुनाव जितेपछि माला, खादा र अबिरको तामझाममा रमाउनेभन्दा जनताको काममा केन्द्रित हुने बताए। निर्वाचनका क्रममा आफूले कुनै पनि प्रतिस्पर्धीको आलोचना नगरेको स्मरण गर्दै स्वस्थ राजनीतिक संस्कारको आवश्यकता पनि औंल्याए।

त्यस्तै कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद उत्तम पौडेलले वर्षौंदेखि कायम रहेका राजनीतिक किल्लालाई जनताले मतमार्फत भत्काइदिएको बताए। “हामी त केवल प्रतिनिधि पात्र हौं। यो परिवर्तनको मुख्य परिकल्पनाकार र योजनाकार सभापति रवि लामिछाने हुनुहुन्छ। उहाँले देखाउनुभएको समृद्ध देशको सपना आज हरेक नेपालीको मन-मनमा पुगेको छ,” उनले भने।

यसैगरी कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद बिना गुरुङले प्राप्त जनमतलाई विजयभन्दा पनि ठूलो जिम्मेवारीका रूपमा लिएको बताइन्। उनले काम गरेर परिणाम नदेखाउँदासम्म विजयको खुसीयाली मनाउन हतार नगर्ने बताउँदै भनिन्,
“जबसम्म सदनमा गएर नागरिकको आवाज उठाउन र काम गरेर देखाउन सक्दिनँ, तबसम्म माला र खादा लगाउँदिन भनेर भनेकी थिएँ। तर मतदाताको माया र खुसीलाई सम्मान गर्दै आज यहाँ उभिएकी छु।”

कार्यक्रममा रास्वपाका नेताहरूले कास्कीका विभिन्न निर्वाचन क्षेत्रका संयोजक, पदाधिकारी तथा स्वयंसेवकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा जनताको विश्वास टुट्न नदिने प्रतिबद्धता व्यक्त गरेका थिए।

कमेन्ट गर्नुहोस्
Share: