
पोखरा । वैवाहिक जीवनको २५ वर्ष पूरा भएको अवसरलाई मानवसेवामा रूपान्तरण गर्दै यहाँका एक सञ्चारकर्मीले पोखरास्थित वृद्धाश्रममा आश्रित जेष्ठ नागरिकका लागि भोजनको व्यवस्था गरेका छन्। नेपाल टेलिभिजन पोखराका समाचारदाता गिरिधारी पोखरेलले आफ्नो वैवाहिक वर्षगाँठ पोखरा वृद्धाश्रममा रहेका बुबाआमासँग मनाउँदै भोजनको व्यवस्था गरेका हुन् ।
सामान्यतया यस्ता खुशीका अवसर तारे होटल वा औपचारिक कार्यक्रममार्फत मनाउने चलन बढिरहेको वर्तमान अवस्थामा उहाँले त्यस्तो फजुल खर्च कटाएर समाजका असहाय तथा विपन्न जेष्ठ नागरिकसँग खुशी साट्ने निर्णय गरे।
पोखरेलका अनुसार पत्नी लक्ष्मी, छोरा समित र छोरी समृद्धि पोखरेल तथा दाजु ऋषिराम पोखरेलसहित परिवारका सदस्यहरूले वृद्धाश्रममा रहेका जेष्ठ नागरिकलाई भोजनको व्यवस्था गरेका थिए ।
समाजका विपन्न तथा असहाय जेष्ठ नागरिकको पालनपोषण गर्ने मुख्य उद्देश्यका साथ २०५२ सालमा स्थापना भएको उक्त वृद्धाश्रममा हाल सेवक-सेविकासहित ४५ जना बसोबास गरिरहेको वृद्धाश्रमका अध्यक्ष केशव पराजुलीले जानकारी दिए।
उनका अनुसार वृद्धाश्रम सञ्चालनका लागि प्रत्येक महिना चार लाख ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने गर्दछ। पछिल्लो समय वैवाहिक वर्षगाँठ, जन्मदिन तथा पितृ स्मृतिका अवसरमा दाताहरूले सहयोग गर्दै आएको उनले बताए।
व्यक्तिगत खुशीलाई समाजसेवासँग जोडेर गरिने यस्ता कार्यले वृद्धाश्रम सञ्चालनमा महत्वपूर्ण सहयोग पुगेको अध्यक्ष पराजुलीको भनाइ छ।
वृद्धाश्रममा भोजन व्यवस्थाका लागि सामान्यतया १५ हजार रुपैयाँ सहयोग लिने गरिएको छ। हाल वृद्धाश्रममा ४५ जना विपन्न तथा असहाय जेष्ठ नागरिक आश्रित रहेका छन्।
