काठमाडौंमा हुन्डी कारोबार पर्दाफास: १ करोड १६ लाख नगदसहित दुई जना पक्राउ

Share:

काठमाडौं । अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका-८ भीमढुंगाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही स्थानका २८ वर्षीय सागर गिरी र २८ वर्षीय प्रमोदप्रसाद धिताल रहेका छन्। प्रहरीका अनुसार अभौतिक मुद्राको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा गरिएको निगरानीपछि उनीहरूलाई ठूलो रकमसहित नियन्त्रणमा लिइएको हो।

प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेकाहरूको साथबाट १ करोड १६ लाख रुपैयाँ नगद, तीन थान चेकबुक तथा विभिन्न व्यक्तिको नाममा काटिएको २७ लाख ३० हजार रुपैयाँ बराबरको चेक बरामद गरिएको छ।

यसका साथै चार वटा विभिन्न बैंकका एटिएम कार्ड, एक थान नागरिकता, दुई वटा चारपांग्रे सवारीसाधन, एक वटा दुईपांग्रे सवारीसाधन तथा तीन वटा सवारी दर्ता किताब पनि फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, विभिन्न कम्पनीका छ वटा मोबाइल फोन, एनसेल र एनटिसीका ३१ वटा सिमकार्ड तथा एक थान कम्प्युटर समेत बरामद गरिएको छ।

प्रहरीले पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान अघि बढाएको छ। जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: