गण्डकीबाट समानुपातिकमा ५ मात्रै सांसद

Share:

पोखरा। गण्डकी प्रदेशबाट विभिन्न दलका ५५ जना उम्मेदवार समानुपातिक बन्दसूचीमा परे पनि अन्ततः सांसद बन्ने भाग्य भने ५ जनालाई मात्रै मिलेको छ। मतका आधारमा थ्रेसहोल्ड कटाएका ६ दलका ती उम्मेदवारमध्ये सीमित व्यक्तिमात्रै संसद् पुग्न सकेका हुन्। सबैभन्दा धेरै बन्दसूचीमा उम्मेदवार राख्ने दल नेपाल कम्युनिस्ट पार्टी थियो, जसबाट १६ जना सूचीमा परेका थिए। त्यसपछि एमालेका १०, नेपाली कांग्रेसका ९, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ८ तथा राप्रपा र श्रम संस्कृति पार्टीका ६/६ जना उम्मेदवार बन्दसूचीमा समेटिएका थिए।

तर अन्तिम परिणाममा गण्डकीबाट ५ जनामात्रै समानुपातिक सांसद बने। तीमध्ये रास्वपाबाट २ जना र अन्य तीन दलबाट १/१ जना प्रतिनिधित्व गर्न सफल भएका हुन्। रास्वपाबाट बागलुङकी गंगा छन्त्याल र गोरखाकी एलिजा गुरुङ सांसद बनेका छन्। उनीहरू दुवै आदिवासी जनजाति महिला क्लस्टरबाट प्रतिनिधित्व गर्दै संसद् पुगेका हुन्। एमालेबाट स्याङजाकी पद्या कुमारी अर्याल खस आर्य महिला कोटाबाट सांसद बनेकी छिन्।

त्यस्तै नेपाली कांग्रेसबाट बागलुङकी रेनुका काउचा आदिवासी जनजाति क्लस्टरबाट समानुपातिक सांसद बनेकी छिन्। नेपाल कम्युनिस्ट पार्टीबाट भने बागलुङकै बलावती शर्मा खस आर्य महिला क्लस्टरबाट संसद् पुगेकी हुन्।

राप्रपा र श्रम संस्कृति पार्टीबाट भने गण्डकी प्रदेशका कुनै पनि उम्मेदवार सांसद बन्न सकेनन्। रोचक पक्ष के छ भने समानुपातिकबाट निर्वाचित हुनेमध्ये सबैभन्दा धेरै सांसद बागलुङ जिल्लाका छन्। बागलुङबाट मात्रै तीन जना फरक-फरक दलबाट सांसद बनेका छन्। रास्वपा, कांग्रेस र नेकपाबाट निर्वाचित भएका ती सांसदहरूको स्थायी ठेगाना बागलुङ नै हो।

दलहरूले आफ्नो पार्टीबाट निर्वाचित हुने सांसदहरूको सूची निर्वाचन आयोगमा बुझाइसकेका छन्। बन्दसूचीका आधारमा नाम तय हुने भए पनि क्लस्टर मिलाउन दलहरूलाई केही हदसम्म नाम तलमाथि गर्ने अधिकार भने रहन्छ।

विश्लेषकहरूका अनुसार समानुपातिक बन्दसूची बनाउँदा दलहरूले गण्डकी प्रदेशलाई अपेक्षाकृत कम प्राथमिकता दिएका थिए। तीन निर्वाचन क्षेत्र रहेको कास्कीबाट एक जना पनि समानुपातिक सांसद बनेका छैनन्। दुई निर्वाचन क्षेत्र भएका तनहुँ र नवलपुरबाट पनि प्रतिनिधित्व हुन सकेन।

यद्यपि प्रत्यक्षतर्फ भने गण्डकीका १८ सिटमध्ये रास्वपाले १५ स्थानमा जित निकाल्दै प्रभावशाली प्रदर्शन गरेको छ। नेपाली कांग्रेसले २ सिट जित्दा १ सिट स्वतन्त्र उम्मेदवारले जितेका छन्।

समानुपातिक मतको हिसाबले गण्डकीमा रास्वपाले ५ लाख २५ हजार ६ सय ३५ मत प्राप्त गरेको छ। कांग्रेसले २ लाख ७ हजार ३ सय ८७, एमालेले १ लाख ५२ हजार १ सय ८७ र नेकपाले ५७ हजार ८ सय ७६ मत पाएका छन्। राप्रपाले २३ हजार ५ सय ५७ मत पाउँदा श्रम संस्कृति पार्टीले १८ हजार ९ सय ९५ मत प्राप्त गरेको छ।

मतको आधारमा गणना गर्दा रास्वपाले गण्डकीबाट करिब ६ जना सांसद पाउनुपर्ने देखिए पनि अन्ततः २ जनामात्रै परेका छन्। कांग्रेसले कम्तीमा २ सिट पाउनुपर्ने अवस्थामा १ जनामात्रै सांसद बनेकी छिन् भने एमालेले पनि करिब २ सिट पाउनुपर्नेमा १ जनामात्रै प्रतिनिधित्व भएको छ।

कमेन्ट गर्नुहोस्
Share: