पोखरामा योगमार्फत स्वास्थ्य र सशक्तीकरणको सन्देश

Share:

पोखरा । पोखरा महानगरपालिका-४, गणेश टोलस्थित गणेश योग साधना केन्द्रले आफ्नो नवौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। महिलाहरूको सक्रिय पहलमा सञ्चालित यस केन्द्रले विगतदेखि नै स्वास्थ्य, अनुशासन र सामाजिक सेवा क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आएको छ।

मङ्गलवार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष देवकृष्ण पराजुलीले स्वस्थ जीवनका लागि योग अपरिहार्य भएको उल्लेख गर्दै योग अभ्यासलाई प्रत्येक घर-घरमा विस्तार गर्नुपर्नेमा जोड दिए। उनले योग केन्द्रलाई थप व्यवस्थित बनाउन आवश्यक सामग्री सहयोग गर्न वडा कार्यालय सधैँ तत्पर रहने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा सहभागी विभिन्न वक्ताहरूले योगलाई केवल व्यायाम नभई जीवनशैलीको रूपमा अपनाउनुपर्ने धारणा राखे। उनीहरूले योगले शारीरिक मात्र नभई मानसिक सन्तुलन र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

केन्द्रकी अध्यक्ष कमला नापितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा योग गुरु वन्दना पालिखेले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव कमला श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा नृत्य, भजन लगायतका सांस्कृतिक प्रस्तुतिहरूले माहोल थप आकर्षक बनाएको थियो।

विशेष कुरा के भने, यस योग केन्द्रले केवल स्वास्थ्यमा मात्र होइन, सामाजिक उत्तरदायित्वमा पनि उदाहरण प्रस्तुत गर्दै आएको छ। विभिन्न संघसंस्थाहरूलाई आर्थिक सहयोग गर्दै आएको केन्द्रले समाज सेवामा पनि आफ्नो भूमिका मजबुत बनाएको छ।

कमेन्ट गर्नुहोस्
Share: