पोखरामा मानव बेचबिखन धन्दामा संलग्न २ जना पक्राउ, ४ महिलाको उद्दार

Share:

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न गिरोहलाई पर्दाफास गर्दै २ जनालाई पक्राउ गरेको छ भने ४ महिलाको उद्दार गरेको छ।

गत आइतबार साँझ करिब ४:३० बजे पोखरा महानगरपालिका-८ जाल्पा रोडस्थित विभिन्न खाजाघरमा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा उक्त गिरोहको गतिविधि खुलासा गरेको हो।

प्रहरीका अनुसार आर्थिक रूपमा कमजोर महिलाहरूलाई राम्रो तलब, बसोबास र खानाको प्रलोभन देखाएर पोखरामा ल्याइन्थ्यो। सुरुमा होटलको काममा लगाइए पनि केही समयपछि ग्राहकसँग जबरजस्ती अनैतिक कार्य गराउन बाध्य बनाइने गरेको तथ्य खुलेको छ।

उक्त घटनामा संलग्न भारत घर भई हाल पोखरा-१४ चाउथे बस्ने २४ वर्षीय राधेश्याम शाह र बागलुङ काठेखोला-४ घर भई हाल पोखरा-१ बगर बस्ने २८ वर्षीय खेमु थापालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले पीडित ४ महिलाको उद्दार गरी सुरक्षित स्थानमा राखेको जनाएको छ। पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले यस्ता आपराधिक गतिविधिविरुद्ध सचेत रहन र शंकास्पद गतिविधि देखिएमा तुरुन्त जानकारी गराउन सर्वसाधारणसँग आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: