पोखरामा अवैध प्लटिङ रोकिँदै, नियम नमान्नेलाई कारबाही हुने

Share:

पोखरा । तीव्र सहरीकरणसँगै अव्यवस्थित बस्ती विस्तार हुन थालेपछि पोखरा महानगरपालिकाले अनधिकृत जग्गा प्लटिङ तथा हाउजिङ निर्माणमा कडाइ गर्ने चेतावनी दिएको छ। महानगरपालिकाले जारी गरेको सूचनामा “जग्गा विकास तथा हाउजिङ निर्माण सम्बन्धी कार्यविधि-२०८१” लागू भइसकेको उल्लेख गर्दै स्वीकृति बिना भइरहेको प्लानिङ र प्लटिङ तत्काल रोक्न निर्देशन दिएको छ।

महानगरका अनुसार केही व्यक्ति तथा संस्थाले अनुमति नै नलिई जग्गा विकास गर्ने गतिविधि बढ्दो रूपमा देखिएको छ। यस्तो कार्यले सहरको दीर्घकालीन योजना र सुरक्षामा असर पार्ने भएकाले कडाइ गर्नुपरेको जनाएको छ।

महानगरले स्पष्ट पारेको छ कि जग्गा विकास गर्दा विकसित घडेरीको मापदण्ड, सडकको पहुँच, खुल्ला क्षेत्र रा आवश्यक पूर्वाधार अनिवार्य रूपमा पूरा गर्नुपर्नेछ। यी मापदण्ड पूरा नगरी गरिएको विकासलाई वैधता नदिइने चेतावनी दिइएको छ।

सूचनामा स्वीकृति बिना काम जारी राखेमा कानुनअनुसार कारबाही गरिने स्पष्ट उल्लेख गरिएको छ। महानगरले सबैलाई नियमअनुसार प्रक्रिया पूरा गरी मात्र जग्गा विकास गर्न आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्
Share: