गगन थापाले दिए कांग्रेस सभापतिबाट राजीनामा

Share:

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले अप्रत्याशित रूपमा पदबाट राजीनामा दिएका छन्। उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मा लाई राजीनामा बुझाएको स्रोतले जनाएको छ। यद्यपि, पार्टीले यसबारे औपचारिक घोषणा भने अझै सार्वजनिक गरेको छैन।

शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाइएपछि आएको यो निर्णयले कांग्रेसभित्र गम्भीर राजनीतिक तरंग सिर्जना गरेको छ। एक शीर्ष नेताका अनुसार सभापतिजीले राजीनामा दिनुभएको छ, अब यसबारे केन्द्रीय समितिमा निर्णायक छलफल हुनेछ।

विशेष महाधिवेशनमार्फत नेतृत्वमा आएका थापाले हालै सम्पन्न निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनपछि नैतिक आधारमा राजीनामा दिएको बताइएको छ।

उनी स्वयं सर्लाही-४ बाट पराजित भएका थिए भने कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिटमा मात्र सीमित सफलता हासिल गरेको थियो।

थापाको निर्णयलाई लिएर कांग्रेसभित्र दुई धार देखिएको छ। संस्थापन पक्षका केही नेताहरूले अहिलेको परिस्थितिमा राजीनामा दिन नहुने तर्क गरिरहेका छन्।

उता, पूर्वसंस्थापन समूहले भने विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको भन्दै पार्टीलाई पुरानै संरचनाबाट अघि बढाउनुपर्ने अडान लिएको छ।

अब सबैको नजर शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा केन्द्रित छ, जहाँ सभापति थापाको राजीनामा स्वीकृत गर्ने वा नगर्नेबारे अन्तिम निर्णय हुने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: