
पोखरा। साहसिक गतिविधिका लागि प्रसिद्ध पोखरामा अब मनोरञ्जनको क्षेत्रमा थप नयाँ आयाम थपिएको छ। फ्लाइ नेपाल इन्टरटेनमेन्टले पोखरामा अत्याधुनिक प्रविधिमा आधारित ‘१८ डी सिनेमा’ सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलोपटक सुरु गरिएको यो सिनेमा पोखराको लेकसाइडस्थित डिज्नील्याण्ड क्षेत्रमा सञ्चालनमा आएको हो। सिनेमा औपचारिक रूपमा राजेश हमालद्वारा उद्घाटन गरिएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै हमालले पोखरा जस्तो सुन्दर सहरमा यस्तो फरक शैलीको मनोरञ्जन थपिनु सकारात्मक भएको बताए। “पोखरा आफैँमा सुन्दर सहर हो। यहाँ धेरै चलचित्रको छायांकन हुने गर्छ। यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो,” उनले भने।
फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाले काठमाडौंमा सफल सञ्चालनपछि दर्शकको अत्यधिक माया र सकारात्मक प्रतिक्रियाका कारण पोखरामा विस्तार गरिएको जानकारी दिए। उनले पोखराको सिनेमा प्रविधिका हिसाबले अझ उन्नत रहेको पनि बताए।
उनका अनुसार, उच्च प्रविधि र सिर्जनात्मक कथाको संयोजनमार्फत दर्शकलाई नयाँ किसिमको रोमाञ्चक अनुभव प्रदान गर्नु यस परियोजनाको मुख्य लक्ष्य हो। “१० देखि ३० मिनेटसम्मका रोमाञ्चक फिल्महरू यहाँ हेर्न सकिन्छ। कुनै चश्मा वा हेडसेट बिना प्रत्यक्ष अनुभव लिन सकिने भएकाले सबै उमेर समूहका लागि उपयुक्त छ,” उनले भने।
यस सिनेमा मार्फत दर्शकहरूले विभिन्न कथात्मक संसारहरूमा यात्रा गर्न सक्नेछन्। निर्देशक हिमाल थापाले साहसिक गतिविधिको सहर पोखरामा यस्तो सिनेमा अनुभवले मनोरञ्जनको दायरा अझ फराकिलो बनाउने बताए। “अब पोखरेली दर्शकहरूले साहसिकता केवल बाहिरी संसारमा मात्र होइन, भित्री अनुभूतिमा पनि महसुस गर्न सक्नेछन्,” उनले बताए।
