कांग्रेस केन्द्रीय समितिद्वारा सभापति थापाको राजीनामा अस्वीकृत

Share:

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत भएको छ। थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको नैतिक जिम्मेवारी लिँदै उपसभापति विश्वप्रकाश शर्मा समक्ष विधानको धारा २६ (१) बमोजिम पेश गरेको राजीनामालाई केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको हो। शुक्रबार र आइतबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गर्दा विभिन्न आधारलाई ध्यानमा राखेर निर्णय गरेको छ। निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको बैठकको ठहर छ।

यस्तै, वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको बैठकले गरेको छ। राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले बैठकले निष्कर्ष निकालेको छ। राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएको र सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेको भनिएको छ। विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेको भन्दै पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकाले थापाको राजीनामा अस्वीकृत गरेको निर्णयमा उल्लेख छ।

यी हुन् कांग्रेसले देखेको चुनाव हार्नुका पाँच कारण 

१) चरम गुटबन्दी तथा आन्तरिक असहयोगका कारण संगठनात्मक शक्ति कमजोर हुनु।

२) गठबन्धन सरकारको कार्यसम्पादनमा जनअपेक्षाविपरीत परिणाम देखिनु।

३) विगतका शासन व्यवस्थाका संरचनागत कमजोरीहरू (३५ वर्षमा ३२ सरकार परिवर्तन समेत) का कारण जनआक्रोश बढ्नु।

४) जेनजी युवा आन्दोलनले पुराना राजनीतिक शक्तिहरूप्रति असन्तोष अभिव्यक्त गर्नु।

५) डिजिटल युगमा एल्गोरिदमिक प्रभावका कारण नयाँ शक्तिहरूलाई प्रतिकृयात्मक लाभ पुग्नु।

कमेन्ट गर्नुहोस्
Share: