
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानप्रति कडा सन्देश दिँदै युद्ध अन्त्यका लागि तत्काल वार्तामा आउन दबाब बढाएका छन्। बिहीबार आयोजित मन्त्रिपरिषद् बैठकमा उनले इरानले सम्झौता नगरे अमेरिका आक्रमण झन् तीव्र बनाउने चेतावनी दिए।
बीबीसीका अनुसार ट्रम्पले स्पष्ट रूपमा भने, “यदि उनीहरू वार्तामा आएनन् भने हामी आक्रमण रोक्ने छैनौं।” उनको यो भनाइले अमेरिका-इरानबीच वार्ता भइरहेको भन्ने अघिल्लो दाबीमाथि नयाँ प्रश्न खडा गरेको छ।
उता इरानका अधिकारीहरूले भने अमेरिका सँग कुनै वार्ता नभएको दाबी गर्दै आएका छन्। बुधबार मात्रै इरानले अमेरिकी शान्ति प्रस्ताव अस्वीकार गर्दै पाँच सर्त अघि सारेको थियो, जसले दुई देशबीचको दूरी अझ बढाएको संकेत दिएको छ।
मन्त्रिपरिषद् बैठकमा ट्रम्पका विशेष दूत Steve Witkoff ले अमेरिकाले इरानलाई १५ बुँदे शान्ति प्रस्ताव पेश गरेको पुष्टि गरे। तर राष्ट्रपति ट्रम्पले इरानले उक्त प्रस्ताव अस्वीकार गरेको विषयमा खुलेर बोलेनन्, न त मध्यपूर्वमा स्थल सेना पठाउने विषयमा कुनै स्पष्ट धारणा सार्वजनिक गरे।
उनले भने, अब निर्णय इरानकै हातमा रहेको छ। “यदि उनीहरूले युद्धविराम स्वीकार गरेनन् भने परिणाम गम्भीर हुनेछ,” ट्रम्पले चेतावनी दिए। अझ कडा शब्द प्रयोग गर्दै उनले थपे, “यदि उनीहरूले त्यसो गरेनन् भने हामी उनीहरूको सबैभन्दा खराब दुःस्वप्न बन्नेछौं। हामी निरन्तर र बिना रोकटोक उनीहरूलाई निसाना बनाउनेछौं।”
यद्यपि अमेरिका इरानलाई वार्ताको टेबलमा ल्याउन कुन रणनीति अपनाउँदैछ भन्ने अझै स्पष्ट भएको छैन। यसले मध्यपूर्वमा तनाव थप चुलिने संकेत देखिएको छ।
