
पोखरा । पोखराका शान्त गल्ली, लेकसाइडका कफी पसल र बौद्धिक विमर्शका मञ्चहरूमा एउटा अनुहार छुट्टै सुनिन्थ्यो र देखिन्थ्यो । हातमा विदेशी लेखकका गम्भीर दर्शनका किताब, ओठमा एउटा अर्थपूर्ण खित्का र आँखामा समाज बदल्ने एउटा ‘अटेरी’ सपना । हिजोसम्म किताबका पानाहरू पल्टाउँदै सत्ता र शक्तिलाई कडा प्रश्न सोध्ने तिनै युवा आज आफैँ सत्ताको त्यो कुर्सीमा पुगेका छन्, जहाँबाट उनले उठाएका प्रश्नहरूको उत्तर खोज्नुपर्नेछ । मझेरीपाटनको माटोबाट उठेका खड्गराज पौडेल ‘गनेस’ अब केवल एक लेखक र अभियन्ता मात्र रहेनन् । उनी बालेन्द्र शाह नेतृत्वको सरकारमा मुलुकको ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन’ जस्तो गरिमामय मन्त्रालयको बागडोर सम्हाल्ने पाइलट बनेका छन् ।
२०३६ सालमा पोखरा-१४ मा जन्मिएका गनेस पौडेलको पृष्ठभूमि कुनै राजनीतिक घरानामा हुर्किएको परम्परागत नेताको होइन । उनी एक प्राज्ञिक र बौद्धिक व्यक्तित्व हुन् । उनले पोखरा विश्वविद्यालयबाट व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेर व्यवस्थापकीय सूत्रहरू सिके भने त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातक गरेर मान्छेका संवेदनाहरू पढ्न सिके ।
झन्डै १५ वर्ष शिक्षण पेसामा बिताएका उनले समाजलाई कक्षाकोठा र किताबको आँखीझ्यालबाट धेरै नजिकबाट नियालेका छन् । पोखरालाई केवल प्राकृतिक सुन्दरताको सहर मात्र नभई ‘बौद्धिक विमर्शको केन्द्र’ बनाउनुपर्छ भन्ने हुटहुटीले उनले ‘र्यान्डम रिडर्स सोसाइटी अफ नेपाल’ को परिकल्पना गरे । मञ्चमा बसेर लेखकहरूलाई पसिना छुटाउने गरी तार्किक प्रश्न गर्ने गनेस आफैँमा एउटा विद्रोही चेत भएका स्रष्टा हुन् । उनको उपन्यास ‘पैताला’ ले नेपाली आख्यानमा एउटा नयाँ मानक खडा गर्यो भने जोन स्टाइनबेकको ‘अफ माइस एन्ड मेन’ लाई ‘मुसा मानुष’ का रूपमा नेपालीमा अनुवाद गरेर उनले आफ्नो धैर्य र बौद्धिक उचाइ प्रमाणित गरे ।
‘लौरो’ बाट सुरु भएको ‘अटेरी’ यात्रा
गनेसको राजनीतिक यात्रा एउटा ठूलो विद्रोहबाट सुरु भयो । २०७९ को स्थानीय चुनावमा जब उनले पोखराको मेयरमा ‘लौरो’ चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिए, धेरैले यसलाई हल्का रूपमा लिए । ‘अटेरी अभियान’ मार्फत उनले राजनीतिक अकर्मण्यता र सिन्डिकेटविरुद्ध बिगुल फुके । मेयरमा पराजित भए पनि उनले प्राप्त गरेको ५ हजार १२८ मत कुनै हार थिएन, बरु पोखरामा वैकल्पिक राजनीतिको एउटा बलियो जग थियो । त्यही बेला काठमाडौँमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङको उदयले गनेसलाई थप ऊर्जा दियो ।
स्थानीय चुनावपछिको ‘जेनजी’ (नयाँ पुस्ता) को विद्रोह र बदलिँदो मनोविज्ञानलाई बुझेका उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भए । पार्टीको केन्द्रीय सदस्य हुँदै कास्की क्षेत्र नम्बर १ बाट ३९ हजार ८८३ मतका साथ सङ्घीय संसद्को यात्रा तय गरेका गनेस आज मन्त्रीको रूपमा सिंहदरबार छिरेका छन् ।
जीवनका संयोगहरू कति रोचक हुन्छन् भने, हिजो जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा जग्गा अधिग्रहण र स्थानीयको संस्कृति मासिएको भन्दै गनेसले नागरिक उड्डयन प्राधिकरणको आलोचना गरेका थिए, आज उनी त्यही निकायको सर्वोच्च कमान्डर बनेका छन् । हिजोका आफ्नै प्रश्नहरू अब उनका अगाडि चुनौती बनेर उभिएका छन् । पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा चलाउने, थला परेको नेपाल वायुसेवा निगमको साख फर्काउने र नेपाललाई विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने जिम्मेवारी अब उनको काँधमा छ ।
मन्त्रालयमा पहिलो पाइला: ‘मेरिटोक्रेसी’ को वाचा
शपथ ग्रहणलगत्तै मन्त्रालयमा पदबहाली गर्दा मन्त्री पौडेलको लवजमा उही पुरानो बौद्धिक स्पष्टता देखिन्थ्यो । उनले कर्मचारीहरूलाई भने, “म कुनै प्रलोभनमा पर्ने छैन, कामको मूल्याङ्कन योग्यता (मेरिटोक्रेसी) को आधारमा हुनेछ । हामीले कर्मचारी जस्तो मात्र होइन, देश निर्माणको अभियन्ता बनेर काम गर्नुपर्छ ।” आफू स्वयं पदयात्री (ट्रेकर) र लेखक भएकाले पर्यटनका समस्यासँग साक्षात्कार रहेको बताउने पौडेलले ‘गन्तव्यमा आधारित पर्यटन’ र हरेक धर्मसँग जोडिएका पदमार्ग विकास गर्ने नयाँ भिजन अघि सारेका छन् ।
किताबका पानामा समाजको आदर्श खोज्ने गनेस पौडेललाई अब सिंहदरबारको यथार्थ धरातलमा काम गरेर देखाउने अवसर जुरेको छ । २०८३ मा नयाँ उपन्यास ल्याउने तयारीमा रहेका उनले आगामी पाँच वर्षमा मन्त्रालयमार्फत कस्तो ‘विकासको महाकाव्य’ लेख्नेछन्, त्यसैमा उनको राजनीतिक भविष्य निर्भर गर्नेछ ।
हिजो चियापसलमा खित्का छोडेर हाँस्ने त्यो युवाले आज देशकै पर्यटन र उड्डयनको आकाश थामेको छ । पोखरेली जनता र उनका पाठकहरू एउटै कुराको प्रतीक्षामा छन्- गनेसको यो ‘पाइताला’ ले सिंहदरबारमा भ्रष्टाचार र अकर्मण्यतालाई कुल्चँदै समृद्धिको नयाँ गोरेटो कोरोस् । एउटा पाठक मन्त्री बन्दा मन्त्रालयमा पक्कै पनि नयाँ र सिर्जनशील अध्यायको सुरुवात हुने अपेक्षा गर्न सकिन्छ ।
