
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार देशभर तोकिएका परीक्षा केन्द्रमा बिहान ८ बजे एसईई परीक्षा सुरु भएको हो। यस वर्ष एसईई परीक्षार्थीको संख्या ५ लाख १२ हजार ४२१ छ। जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना छन्।
यस वर्षको एसईई परीक्षार्थीमा छात्राको सङ्ख्या बढी छ। २ लाख ५७ हजार ६१३ छात्रा हुँदा छात्रको संख्या २ लाख ५४ हजार ८०१ छ। अन्य ७ जना छन्। जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन्। परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
परीक्षा सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारीको व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ।
