पोखरामा ‘अफलाइन’ राइडको नाममा ठगी, १० जना पक्राउ

Share:

पोखरा। पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा ‘अफलाइन’ रूपमा मोटरसाइकल चलाउँदै यात्रुसँग मनपरी भाडा असुल गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ। अनलाइन राइड सेयरिङ एप प्रयोग नगरी वा त्यसमा आबद्ध भएर पनि ‘अफलाइन’ सेवामार्फत बढी भाडा लिने गरेको गुनासो बढेपछि प्रहरीले विशेष अपरेसन सञ्चालन गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार मंगलबार बिहान ८ बजेदेखि वडा प्रहरी कार्यालय बैदाम र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त टोलीले पोखराका विभिन्न स्थानमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। यात्रुलाई अनावश्यक दुःख, हैरानी र ठगी भइरहेको व्यापक उजुरीपछि प्रहरीले कडा कदम चालेको जनाएको छ।

पक्राउ पर्नेहरूमा विभिन्न जिल्लाका व्यक्ति रहेका छन्, जसले पोखराका अलग-अलग स्थानबाट ‘अफलाइन’ राइड सञ्चालन गर्दै आएका थिए। उनीहरूले तोकिएकोभन्दा बढी भाडा असुल्दै यात्रुलाई ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार पक्राउ परेका सबैलाई वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान भइरहेको छ। प्रहरीले सर्वसाधारणलाई सुरक्षित यात्राका लागि अनिवार्य रूपमा एपमार्फत मात्र राइड बुक गर्न आग्रह गरेको छ। साथै, ठगी वा अनियमितता भएको शंका लागेमा तुरुन्तै प्रहरीलाई खबर गर्न पनि अनुरोध गरिएको छ।

कमेन्ट गर्नुहोस्
Share: