जानकी माविमा विश्व अटिजम सचेतना दिवस मनाइयो

Share:

पोखरा । विश्व अटिजम सचेतना दिवसका अवसरमा पोखरा महानगरपालिका-१७ स्थित जानकी माध्यमिक विद्यालयको अटिजम स्रोत केन्द्रमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा वक्ताहरूले अटिजम बालबालिकामा देखिने मस्तिष्क र स्नायु कोषहरूको असामान्य विकासको अवस्था भएको उल्लेख गर्दै यसबारे समाजव्यापी सचेतना आवश्यक रहेको बताएका छन्।

कार्यक्रमको उद्घाटन गर्दै वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीले पछिल्लो समय अटिजम घरघरको समस्याका रूपमा देखिन थालेको बताउँदै यसको समाधानका लागि महानगरले पहिलो पटक स्रोत कक्षा सञ्चालनमा ल्याएको जानकारी दिइन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत निर्माण सम्पन्न भवनमा सञ्चालनमा आएको उक्त स्रोत केन्द्रमा हाल ४० जना विद्यार्थी अध्ययनरत छन्। उनीहरूलाई आठ जना सहजकर्ता, एक जना थेरापिस्ट र सहयोगी कर्मचारीले सहजीकरण गर्दै आएका छन्।

कार्यक्रमका अवसरमा वडा कार्यालयले स्रोत केन्द्रका लागि करिब ५० हजार रुपैयाँ बराबरका आवश्यक शैक्षिक सामग्री विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो। साथै दिवसको अवसरमा विद्यार्थी, अभिभावक, स्थानीय आमा समूह तथा टोल विकास संस्थाहरूको सहभागितामा प्रभातफेरी कार्यक्रम पनि आयोजना गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रा. डा. नम्रता केसी, पूर्व विद्यार्थी समाजका अध्यक्ष नगेन्द्र गुरुङ, प्रधानाध्यापक अर्जुन कँडेल तथा स्रोत केन्द्र इन्चार्ज कमल आचार्यलगायतले अटिजमको वर्तमान अवस्था र यसको व्यवस्थापनमा तीनै तहका सरकारको भूमिकाबारे धारणा राखेका थिए।

कमेन्ट गर्नुहोस्
Share: