
पोखरा। पोखरालाई सूचना प्रविधिको हब बनाउने लक्ष्यसहित पोखरा महानगरपालिकाले आईसीटी बुट क्याम्प तथा डिजिटल गभर्नेन्स ह्याकाथन कार्यक्रम सञ्चालन गरेको छ । महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको वार्षिक विकास कार्यक्रम अन्तर्गत “स्वदेशी लगानी, विदेशी कमाई; समृद्ध महानगर, युवामा लगानी” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।
केन्द्रका प्रमुख नवराज अधिकारीका अनुसार यस पहलले डिजिटल युगमा प्रवेश गर्न तथा सार्वजनिक सेवा प्रवाहमा देखिएका समस्याहरू समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । “लाइनमा बसेर होइन,
अनलाइनबाट सेवा लिन सकिने प्रणाली विकासतर्फ यो कार्यक्रम उपयोगी हुनेछ,” उनले भने ।
कार्यक्रममार्फत युवाहरूलाई आधुनिक सूचना प्रविधि जस्तै एआई, क्लाउड कम्प्युटिब, साइबर सेक्युरिटी र डाटा सेवामा व्यवहारिक ज्ञान प्रदान गरिएको छ । साथै, स्थानीय तहका डिजिटल समस्याहरू पहिचान गरी समाधान विकास गर्ने क्षमता अभिवृद्धि गर्ने उद्देश्य पनि राखिएको छ ।
ह्याकाथनमा ६३ जनाबाट आवेदन परेकोमा ४० जना छनोट भएका थिए भने अन्तिम प्रतिस्पर्धामा ९ टोलीका २१ जना सहभागी भएका थिए । प्रतियोगितामा बाइट्स नेपाल टोलीका प्रदीप ढकाल र प्रविन बराल प्रथम भई ५० हजार रुपैयाँ पुरस्कार जित्न सफल भए। त्यस्तै, कृषि कनेक्ट टोलीका विशाल कोइराला र निश्चल खनाल द्वितीय भई ४० हजार रुपैयाँ तथा नीति डिकोड (बोलपत्र ट्र्याकिब सिस्टम) टोलीका शिवशंकर श्रेष्ठ र सचेतसिंह कार्की तृतीय भई ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्रविधिको उपयोग समयानुकूल आवश्यक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले पोखरालाई आईटी हब बनाउन सहयोग पुग्ने बताए । उनले महानगरले सूचना प्रविधि पार्क निर्माण, डिजिटल पालिका तथा अन्य प्रविधिमैत्री परियोजनाहरू अघि बढाइरहेको जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्दा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने धारणा व्यक्त गरे ।
