
पोखरा । राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यस पटक हुने महोत्सव १४ औं संस्करणको हो ।आयोजक विष्णुपादुका क्लबले सोमबार आज पत्रकार सम्मेलन गरी महोत्सव यही चैत २७ गतेदेखि वैशाख ५ गतेसम्म हुने र जसको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । महोत्सवमा प्रतिकेजी रु. ३५ मा आलुको कारोबार हुनेछ ।
मूल आयोजक समितिका संयोजक समेत रहेका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटबिरुवा, परीक्षण तथा रोग निदान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम गरिने जानकारी दिए ।
त्यस्तै उनले कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि गरिने उल्लेख गरे । पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले पोखरालाई विश्व बजारमा चिनाएको धारणा राख्दै महानगर कृषकलाई प्रोत्साहन गर्ने पक्षमा रहेको स्पष्ट पारे ।
कृषि प्राविधिक चन्द्राकान्त तिमिल्सीनाले हेमजाको आलु स्वस्थकर हुने उल्लेख गर्दै आलु तरकारीको राजा भएको भनाइ राखे । सदाझैं यस पटक पनि महोत्सवमा ‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार अनेक’ नारालाई अगाडि सारिएको छ । महोत्सव मार्फत हेमजालाई कृषि क्षेत्रका रुपमा परिचित गराउने, हेमजाको कृषि उत्पादन तथा विकासमा टेवा पुऱ्याउने, कृषकलाई कृषि व्यवसायमा आकर्षित गराउँदै हेमजालाई कृषि राजधानीको रुपमा स्थापित गराउने लक्ष्य राखिएको छ ।
त्यस्तै आयोजकले क्लब भवन निर्माणका साथै तरकारी संकलन एवं बिक्री वितरण केन्द्र स्थापना गर्ने, बहुउद्देश्यीय भवन निर्माण सम्पन्न गर्ने उद्देश्य पनि लिएको छ । हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ । यस खेतीमा त्यहाँका करिब २ हजार घरपरिवार आधारित रहे पनि १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् । जसको प्रति रोपनी औसत उत्पादन लागत रु. १८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।


