
पोखरा। गुरुङ समुदायको सांस्कृतिक तथा मौलिक पर्व ‘ट्होटें’ को अवसरमा कास्कीका दुई गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएका छन्। कास्कीको मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटें पर्वलाई मनाउन आफ्ना क्षेत्रभित्र बिदा दिने निर्णय गरेका हुन्।
गुरुङ समुदायले प्रत्येक वर्ष साउन र चैत महिनाको अन्तिम मंगलबार यो पर्व मनाउने गर्दछन्। ‘ट्हो’ को अर्थ राज्य वा गाउँबस्ती र ‘टें’ को अर्थ राज्यबाट शत्रु वा खराब तत्व धपाउनु भन्ने हुन्छ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङका अनुसार सिक्लेस जस्ता ऐतिहासिक गाउँहरूमा चैतको मंगलबार ‘गाउँ वार्ने’ चलन अझै जीवित छ।
“गाउँ वार्ने दिनमा प्रकृतिलाई असर पुग्ने कुनै पनि कार्य गर्नु हुँदैन भन्ने जनविश्वास छ,” उनले भने, “प्रकृति रिसाएमा विपत्ति आउने विश्वासका साथ यो परम्परालाई संरक्षण गरिँदै आएको हो।”
त्यस्तै, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले पनि समुदायको संस्कार र संस्कृतिलाई सम्मान गर्दै बिदा दिइएको जानकारी दिए। कास्की बाहिर स्याङ्जाको फेदीखोला गाउँपालिकाले पनि यस पर्वमा बिदा दिएको छ।
तमु धिं कास्कीका अध्यक्ष हुमबहादुर गुरुङले ट्होटें पर्वको महत्वलाई मध्यनजर गर्दै संघीय सरकारले नै यसलाई राष्ट्रिय क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिए ।
मंगलबार कास्कीमा शुभकामना र्यालीसहित विभिन्न सांस्कृतिक कार्यक्रमका साथ यो पर्व मनाउने तयारी गरिएको छ।
देश तथा विदेशमा रहेका गुरुङ समुदायले आफ्नो थातथलो र समाजको सुरक्षाको कामना गर्दै मंगलबार धुमधामका साथ ट्होटें मनाउँदै छन्।
