हेमजामा राष्ट्रिय आलु महोत्सव सुरु, महानगरको प्राथमिकतामा आलु खेती

Share:

पोखरा । “सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ पोखराको हेमजामा ‘१४औँ राष्ट्रिय हेमजा आलु महोत्सव’ शुक्रबारदेखि सुरु भएको छ। विष्णुपादुका क्लबको आयोजनामा सुरु भएको यो महोत्सव आगामी वैशाख ५ गतेसम्म चल्नेछ।

महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उपजका नाममा महोत्सव हुनु गौरवको विषय भएको बताए। आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरालाई नै ब्राण्डिङ गर्न सफल भएको उनको भनाइ थियो।

प्रमुख आचार्यले महानगरले आलु महोत्सवलाई प्राथमिकतामा राख्दै रातो किताबमा समेत समेटेको स्पष्ट पारे। सो अवसरमा उनले हेमजाका विकास आयोजनाहरू चौरासी नहर, साँझाचोक(तिब्बती क्याम्प सडक र सुइखेत खोला व्यवस्थापन महानगरको योजनामा रहेको जानकारी दिए।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा नं.२५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले कृषि मर्यादित पेसा भएको उल्लेख गर्दै यो महोत्सव हेमजावासीका लागि एउटा पर्व जस्तै बनेको बताए। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले कृषि, पर्यटन र व्यापारमार्फत स्थानीयको जीवनस्तर उकास्न महानगर प्रतिबद्ध रहेको उल्लेख गरे।

महोत्सव उद्घाटन हुनुअघि हेमजास्थित विष्णुपादुका माईस्थानबाट मौलिक बाजागाजासहित कृषि झाँकी ¥याली निकालिएको थियो। उक्त ¥याली मिलनचोक र साँझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदानमा पुगेर मूल समारोहमा परिणत भएको थियो।

यस्तै, महोत्सवमा आलुको ठुलो पहाड निर्माण गरिएको छ, जुन दर्शकका लागि मुख्य आकर्षण बनेको छ। महोत्सवमा ३० वटा कृषि स्टल, एक आलुको विशेष परिकार स्टल र १०० वटा व्यापारिक स्टलहरू रहेका छन्। महोत्सव अवधिभर उपभोक्ताका लागि प्रतिकेजी ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ। कृषकहरूका लागि माटो र बोटबिरुवा परीक्षण तथा रोग निदानको सुविधा समेत उपलब्ध छ।

मुल समारोह समितिका अध्यक्ष वसन्तकुमार श्रेष्ठले महोत्सवले पोखरामा कृषि पर्यटन वृद्धि गर्ने अपेक्षा राखे। शनिबार महोत्सवको दोस्रो दिन शान्तिरानी परियार, परशुराम अधिकारी र सुनील गायक लगायतका कलाकारहरूको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। महोत्सव प्रवेशका लागि सर्वसाधारणलाई १०० रुपैयाँ र विद्यार्थीलाई परिचयपत्रका आधारमा ५० रुपैयाँ टिकट शुल्क तोकिएको छ। सचिव विपीन पौडेलको स्वागत र महासचिव विकल थापाको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो।

 

कमेन्ट गर्नुहोस्
Share: