२१ औं फेवा महोत्सवको तयारी पूरा: नयाँ वर्ष मनाउन पर्यटक पोखरा भित्रिँदै, खहरेदेखि सहिदचोकसम्म आकर्षण

Share:

पोखरा । पर्यटकीय नगरी पोखरामा आयोजना हुने २१ औं संस्करणको फेवा नव वर्ष महोत्सव २०८३ को सम्पूर्ण तयारी पूरा भएको छ । होटल संघ पोखरा नेपालको आयोजनामा हुन लागेको यो महोत्सव भोली (आइतबार) बाट सुरु भई आगामी वैशाख १ गतेसम्म चल्नेछ । खहरेदेखि सहिदचोकसम्मको सडक खण्डमा आयोजना हुने महोत्सवमा सहभागी हुन देशका विभिन्न भागबाट पर्यटकहरू पोखरा आउने क्रम सुरु भइसकेको छ । महोत्सवका संयोजक एवं होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, आज बिहान ११ बजे खहरे चोकबाट विभिन्न सांस्कृतिक झाँकी र र्‍यालीसहित महोत्सवको औपचारिक सुरुवात गरिनेछ । उक्त र्‍याली अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत हुनेछ ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवर्द्धनमा हुन लागेको यस महोत्सवले विशेषगरी युवा पुस्तामा विक्रम संवत्‌को महत्त्व र सचेतना जगाउने लक्ष्य राखेको छ । पर्यटन बोर्डका प्रदेश प्रमुख मणिराज लामिछानेले विद्यालय र क्याम्पस बिदा भएको समयमा पोखरालाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न बोर्डले संघसँग सहकार्य गरेको बताए।

सडकमा नै आयोजना हुने यस महोत्सवमा अवलोकनकर्ताका लागि प्रवेश शुल्क लाग्ने छैन । महोत्सवको अवसरमा संघमा आबद्ध होटलहरूले प्रकाशित दररेटमा २५ प्रतिशतसम्म छुट प्रदान गर्नेछन् । ई-सेवामार्फत होटल बुक गर्दा १० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ । प्रदेशस्तरीय मौलिक तथा रैथाने खानाको प्रदर्शनी, पञ्चैबाजा प्रतियोगिता र पर्यटक दौड प्रतियोगिता महोत्सवका मुख्य आकर्षण रहनेछन् ।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि रहेको छ भने सह-प्रायोजकमा म्याक्स टाइगर र एक्ट्रिम इनर्जी ड्रिंक रहेका छन् । त्यस्तै, अन्नपूर्ण केबलकार, ई-सेवा, युनाइटेड वाइनरी लगायतका संस्थाहरूले प्रायोजन गरेका छन् । महोत्सवलाई पोखरा महानगरपालिका र गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले समेत प्रवर्द्धन गरेका छन् । पर्यटन, संस्कृति र स्थानीय खानालाई एउटै थलोमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सवले पोखराको पर्यटनमा नयाँ उत्साह थप्ने विश्वास आयोजकले लिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: