
पोखरा । पोखराको हेमजामा जारी १४ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दोस्रो दिन शनिबार दर्शकहरूको उल्लेख्य सहभागिता रहेको छ । शुक्रबारदेखि सुरु भएको महोत्सवमा शनिबार बिदाको दिन र अनुकूल मौसमका कारण चहलपहल निकै बढेको हो । आयोजक विष्णुपादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठका अनुसार शनिबार मात्रै ८ हजारभन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् । महोत्सवमा आलुको कारोबारका साथै कृषि र अन्य व्यावसायिक स्टलहरूमा पनि उत्साहजनक व्यापार भइरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा प्रवेश गर्ने बित्तिकै दर्शकहरूको मुख्य आकर्षण कृषि उपज तथा सामग्रीका स्टलहरूमा देखिएको छ । कृषि अनुसन्धान निर्देशनालय (लुम्ले) ले महोत्सवमा आलुका प्रजाति र बीउ बिजनका बारेमा जानकारी प्रदान गरिरहेको छ । निर्देशनालयका प्राविधिक सहायक बालकृष्ण भारतीका अनुसार प्रदर्शनीमा २५ प्रजातिका आलु र ३७ प्रकारका अन्य तरकारीका बीउहरू राखिएका छन् ।
महोत्सवलाई मनोरञ्जनात्मक बनाउन शनिबार विभिन्न कलाकारहरूले प्रस्तुति दिएका छन् । कलाकारहरू शान्तारानी परियार, अनिल चापागाईं, करिष्मा विसी, पूजा तामाङ, नेत्र खड्का, परशुराम अधिकारी लगायतले दर्शकलाई नचाएका थिए । भोलि (आइतबार) चर्चित लोक दोहोरी गायक बद्री पंगेनी, ममता तामाङ, शान्ता बर्देवा, रोशन विसी लगायतका कलाकारहरूको विशेष प्रस्तुति रहने मूल आयोजक समितिका महासचिव विकल थापाले जानकारी दिए ।
ममहोत्सव स्थलमा निर्माण गरिएको आलुको पहाड दर्शकका लागि सेल्फी खिच्ने आकर्षण बनेको छ । महोत्सवमा प्रतिकिलो ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ । महोत्सवमा ३० वटा कृषि स्टल, एक विशेष आलुका परिकारको स्टल र अन्य १०० वटा व्यापारिक स्टलहरू रहेका छन् ।
कृषकहरूका लागि माटो परीक्षण, बोटबिरुवाको रोग निदान र कृषि परामर्श सेवा पनि महोत्सवमै उपलब्ध छ । कृषि झाँकी प्रतियोगिता, कृषि यन्त्रको प्रदर्शनी र विविध सांस्कृतिक कार्यक्रमसहित यो महोत्सव आगामी वैशाखसम्म चल्नेछ । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवले हेमजाको आलुलाई राष्ट्रिय रूपमा थप चिनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
