
पोखरा । पोखरा महानगरपालिका-८ सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयको आयोजनामा यु–१४ सेभेन ए साइड फुटबल तथा खुला टेबल टेनिस प्रतियोगिता सुरु भएको छ। चैत २८ गते बुधबारदेखि विद्यालयको आफ्नै खेलमैदानमा भव्य रूपमा सुरु भएको प्रतियोगिताको पहिलो दिन फुटबलतर्फ ३२ टोलीको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन समारोह विद्यालयका संस्थापक अध्यक्ष शेर बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि तेज बहादुर गुरुङ रहनुभएको थियो भने विशिष्ट अतिथिको रूपमा संस्थापक प्रिन्सिपल पम्फा गुरुङको उपस्थिति रहेको थियो।
सो अवसरमा बोल्दै प्रमुख अतिथि तेज बहादुर गुरुङले खेलकुदमार्फत विद्यार्थीहरूमा सकारात्मक ऊर्जा र स्वस्थ प्रतिस्पर्धाको भावना विकास हुने बताउँदै विद्यालयको यस प्रयासको प्रशंसा गरे।
यस्तै, अध्यक्ष शेर बहादुर गुरुङले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र टिमवर्क विकास गर्ने उल्लेख गर्दै विद्यालयले यस्ता अतिरिक्त क्रियाकलापलाई सधैँ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
विशिष्ट अतिथि पम्फा गुरुङले विद्यालयले स्थापना कालदेखि नै खेलकुदलाई प्राथमिकतामा राख्दै आएको र भविष्यमा राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्य लिएको बताए। नयाँ व्यवस्थापन समितिका सदस्य तथा शिक्षाविद् पदम बास्ताकोटीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन स्कुल कोर्डिनेटर दुर्गा पौडेलले गरेका थिए।
आयोजकका अनुसार प्रतियोगिताअन्तर्गत भोलि चैत २९ गते फुटबलतर्फ सेमिफाइनल र फाइनल खेलहरू हुनेछन्।
यस्तै, टेबल टेनिसतर्फको फाइनल प्रतिस्पर्धा पनि भोलि नै सम्पन्न गरी समापन गरिने विद्यालयले जानकारी दिएको छ। विद्यार्थीहरूमा खेल भावना, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको विकास गर्न यो प्रतियोगिता सहयोगी हुने विश्वास लिइएको छ।
