पोखरा-मुग्लिन सडक आयोजना: विद्युत् पोल बाधक बन्दा सर्भिस लेन निर्माणमा ढिलाइ

Share:

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डेडिकेटेड विद्युत् लाइनका पोलहरू स्थानान्तरण नहुँदा पोखरा-मुग्लिन सडक आयोजनाको काम प्रभावित भएको छ। कुँडहर सबस्टेसनदेखि विमानस्थल प्रवेशमार्गसम्मका २९ वटा पोल नहट्दा सडकको सर्भिस लेन र फुटपाथ निर्माण कार्य रोकिएको हो।

नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने संरचना तयार भइसकेको छ। तर, सो संरचना निर्माण बापतको रु. १ करोड ६३ लाख विमानस्थल कार्यालयले भुक्तानी नगरेका कारण प्राधिकरणले भूमिगत प्रणाली सञ्चालन गर्न मानेको छैन। प्राधिकरणको अडान छ, “जबसम्म भुक्तानी हुँदैन, तबसम्म भूमिगत सेवा सुरु हुँदैन, र पुरानो पोल हटाउन मिल्दैन।”

सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरले पोल हटाउन विमानस्थल र प्राधिकरणलाई पटक-पटक पत्राचार गरे पनि सुनुवाइ नभएको गुनासो गरे। यता प्राधिकरणका इन्जिनियर आनन्द सुवेदीले विमानस्थलबाट ‘आश्वासन’ मात्र आउने गरेको भन्दै कानुनी झमेला पर्ने डरले बिना भुक्तानी लाइन सुचारु गर्न नसकिने स्पष्ट पारेका छन्।

यो समस्या समाधानका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलसँग शनिबार पोखरामा छलफल भएको छ। मन्त्रालय स्तरबाटै निकास निस्कनेमा प्राधिकरण र सडक आयोजना दुवै आशावादी देखिएका छन्।

पोखरा-जामुने पश्चिम खण्डको निर्माण कार्य आगामी असार १५ गतेसम्म सक्ने लक्ष्य छ। हालसम्म यस खण्डको भौतिक प्रगति ७७.४७ प्रतिशत पुगेको छ। ३८.७१ किमी दूरीमध्ये ३७.२८ किमीमा दोस्रो चरणको कालोपत्र भइसकेको छ। तर, कुँडहर क्षेत्रमा पोल नहट्दा झन्डै एक किलोमिटर दूरीमा काम अघि बढ्न सकेको छैन।

पोखराका मुख्य सहरी क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको समग्र भौतिक प्रगति ६७ प्रतिशत पुगेको छ। विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोकसम्म तार बिछ्याएर घरघरमा वितरण सुरु भइसके पनि विमानस्थलकै लाइनका कारण सडक विस्तारमा भने अवरोध कायम छ।

कमेन्ट गर्नुहोस्
Share: