
पोखरा । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको वडा प्रहरी कार्यालय, बगरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा, बगरको पहलमा पुनर्निर्माण गरिएका भौतिक संरचनाहरू आइतबार एक कार्यक्रमका बीच प्रहरीलाई हस्तान्तरण गरिएको हो।
गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा प्रदर्शनकारीले कार्यालयको भवन, ब्यारेक, मेश र व्यक्तिगत सामग्रीहरूमा आगजनी गर्दा ठूलो भौतिक क्षति भएको थियो। स्थानीयकै सहयोगमा बनेका संरचना नष्ट भएपछि यसको पुनर्निर्माणको जिम्मा सामुदायिक सेवा केन्द्रले लिएको थियो।
पुनर्निर्माणका लागि पूर्व अध्यक्ष पुरुषोत्तम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिका अनुसार पुनर्निर्माणमा कुल ४० लाख २ सय ८० रुपैयाँ बराबरको खर्च भएको छ। जसमा विभिन्न दाता र संघसंस्थाबाट प्राप्त नगद ४ लाख १० हजार ४ सय ३० रुपैयाँ, जिन्सी सामग्री अर्थात् जिन्सी सहयोगबाट ३५ लाख ८९ हजार ८ सय ५० बराबर रुपैयाँ छ ।
पुनर्निर्माण गरिएका भवन र मेश गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीको रोहवरमा वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद सापकोटालाई हस्तान्तरण गरियो।
कार्यक्रममा बोल्दै दिपेन्द्र जिसीले प्रहरीको पीडा बुझेर छोटो समयमै संरचना तयार गरिदिएकोमा समुदायलाई आभार व्यक्त गरे। उनले भने, “प्रहरीका समस्यालाई तत्काल बुझेर सामुदायिक सेवा केन्द्रले गरेको यो पहलकदमी सधैं स्मरणयोग्य रहनेछ।”
पुनर्निर्माण समितिका संयोजक पुरुषोत्तम श्रेष्ठले प्रहरीको मनोबल उच्च राख्न स्थानीय समुदाय स्वतःस्फूर्त रूपमा जुटेको बताए। उनले भने, “हेर्दाहेर्दै भवन खरानी भएको देख्दा हामी भावविह्वल भएका थियौं, तर स्थानीयकै सहयोगमा फेरि उभ्याउन सफल भयौं।”
सोही अवसरमा पुनर्निर्माणमा अहोरात्र खटिएका प्रहरी कर्मचारीहरू, समिति सदस्यहरू र सहयोगी संस्थाहरूलाई प्रशंसा पत्र र सम्मान प्रदान गरिएको थियो। साथै, सामुदायिक सेवा केन्द्र बगरले प्रकाशन गरेको भित्ते पात्रोसमेत विमोचन गरिएको थियो।
कार्यक्रममा पोखरा महानगर वडा नं. २ का अध्यक्ष दिवसमान प्रधानाङ्ग, एसएसपी तुल बहादुर कार्की, सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका अध्यक्ष भीम पराजुली लगायतले सार्वजनिक सम्पत्तिको संरक्षणमा समुदायको भूमिकाबारे चर्चा गरेका थिए । कार्यक्रम सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो।


