
पोखरा । ‘उत्साह र विश्वासको नवीन अभियान’ भन्ने मूल सन्देशका साथ नेपाली कांग्रेसले देशव्यापी रूपमा सञ्चालन गर्न लागेको ‘जरा अभियान’ कास्कीमा आइतबारदेखि औपचारिक रूपमा प्रारम्भ भएको छ। नेपाली कांग्रेस कास्कीले केन्द्रीय प्रतिनिधिहरूको उपस्थितिमा बैठक बसी आवश्यक तयारीका साथ अभियान अघि बढाएको हो। कास्कीका कांग्रेस सहसचिव एवं प्रवक्ता नवीन सिग्देलका अनुसार यो अभियान जिल्लाका सबै ७२ वटा इकाईसम्म पुग्नेछ।
पार्टीको क्रियाशील सदस्यता अद्यावधिक गर्ने र नयाँ सदस्यता वितरण गर्ने,आम नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउने, तथा विशेष गरी जेन्जी पुस्ताका युवाहरूसँग संवाद गरी उनीहरूलाई पार्टीको मूलधारमा जोड्नेलगायत उद्धेश्य छन् ।
अभियानका लागि कास्कीमा केन्द्रीय प्रतिनिधिको रूपमा पार्टीका केन्द्रीय सदस्य रेशम बानियाँ र महासमिति सदस्य विष्णु पौडेल खटिएका छन्। अभियानको शुभारम्भ गर्दै केन्द्रीय सदस्य बानियाँले यो अभियानले पार्टीभित्र नयाँ ऊर्जा भर्ने र आगामी महाधिवेशनका लागि उपयुक्त वातावरण निर्माण गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै, अर्का प्रतिनिधि विष्णु पौडेलले वर्तमान राजनीतिक परिस्थितिमा पार्टी सुदृढीकरणका लागि यो अभियानको सान्दर्भिकतामाथि प्रकाश पारे। नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा सम्पन्न उक्त बैठकमा प्रवक्ता नवीन सिग्देलले अभियानले पार्टी संगठनलाई जगैदेखि बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
पार्टीले यस अभियानमार्फत कार्यकर्तामा नयाँ उत्साह र आम जनतामा विश्वास जगाउने लक्ष्य लिएको छ।
