
पोखरा। नयाँ वर्षको अवसरमा पोखराका विभिन्न पर्यटकीय तथा सार्वजनिक स्थलमा सुरक्षा व्यवस्था कडा पार्दै जिल्ला प्रहरी कार्यालय कास्कीले ‘स्वीप अप्रेसन’ चलाएको छ। मादक पदार्थ सेवन गरी हो-हल्ला गर्ने, ध्वनी प्रदूषण फैलाउने र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिमा संलग्न १८ जना व्यक्ति र ४१ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका कार्यालयहरूबाट खटिएको टोलीले मंगलबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म पोखराका विभिन्न स्थानमा विशेष अपरेशन सञ्चालन गरेको थियो।
कहाँ-कहाँ भयो कारवाही ?
प्रहरीका अनुसार पोखराका मुख्य चार क्षेत्रमा केन्द्रित भई कारवाही गरिएको थियो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा-११, काहुडाँडाबाट ८ जना मानिस र १० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ।
यस्तै, जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरीको संयुक्त टोलीले पोखरा-१४, चाउथेबाट ९ वटा सवारी साधनलाई कारवाही गरेको छ। वडा प्रहरी कार्यालय बैदाम र बगरको टोलीले पोखरा-१८, मेथलाङबाट ५ जना मानिस र ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ भने ६ वटा सवारीलाई कारवाही गरी छाडिएको छ।
इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले पोखरा-३०, बेगनासबाट ४ जना मानिस र १ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। उक्त सवारीका चालकले लागू औषध सेवन (लापसे) गरेको पाइएको प्रहरीले जनाएको छ। त्यहाँ अन्य ८ वटा सवारी साधनलाई पनि कारवाही गरिएको छ।
सवारी साधनको स्वरुप परिवर्तन (मोडिफाई) गरी ध्वनी प्रदूषण गर्ने, लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने र सार्वजनिक स्थानमा हो(हल्ला गर्ने विरुद्ध जनगुनासो बढेपछि प्रहरीले यो कदम चालेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ परेका व्यक्ति र नियन्त्रणमा लिइएका सवारी साधनमाथि थप कानूनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिएको छ। नयाँ वर्षको समयमा हुनसक्ने सम्भावित दुर्घटना र उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको बताएको छ।
