
पोखरा । पोखराको सभागृह चोक नजिकै भएको सृजना पौडेल केसीको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको सुक्ष्म अनुसन्धान र यसअघि पक्राउ परेका मुख्य प्रतिवादीहरूको बयानका आधारमा थप दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा बसन्त केसी २४ वर्षीय पर्वत कुश्मा-११ स्थायी घर भई हाल पोखरा-५, जिरो किलोमिटर बस्ने तथा नवराज पौडेल क्षेत्री २७ वर्षीय पर्वत फलेवास-९ स्थायी घर भई हाल पोखरा-१६, लामाचौर बस्ने रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई कास्की जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।गएको चैत २५ गते बेलुका करिब ७:१५ बजे पोखरा महानगरपालिका वडा नं. ८, सभागृह चोक नजिकै शिवालय चोक स्थित सडक खण्डमा ४२ वर्षीया सृजना पौडेल केसीलाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो।
पोखरा-५ जिरो किमी घर भई हाल सेदी बस्दै आएकी सृजनाको हत्यामा संलग्न रहेको आरोपमा यसअघि नै दुई जना मुख्य प्रतिवादीहरू पक्राउ परिसकेका छन्। प्रहरीले घटनाको कारण र पक्राउ परेका व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
