महानगरद्वारा ५ करोड बढीको लागतमा विपद् व्यवस्थापन केन्द्र निर्माण: मेयर आचार्यद्वारा उद्घाटन

Share:

पोखरा । पोखरा महानगरपालिकाले विपद् पूर्वतयारी र उद्धारका लागि एकद्वार प्रणाली सुरु गरेको छ । यसका लागि महानगरले विपद् तथा जोखिम न्यूनीकरण केन्द्र (डिआरआरसी) स्थापना गरेको छ । नयाँ वर्ष २०८३ को अवसरमा मेयर धनराज आचार्यले मंगलबार यसको उद्घाटन गरे ।

पोखरा-९ शान्तिवनस्थित दमकल कार्यालयमा यो केन्द्र रहनेछ । त्यहाँ महानगर प्रहरीको ब्यारेक र कार्यालयसँगै बहुउद्देश्यीय भवन बनाइएको छ । सहरको शान्ति सुरक्षा, सुशासन र विपद् व्यवस्थापन गर्न केन्द्रले काम गर्ने आचार्यले बताए ।

केन्द्रले पोखराको भौगोलिक अवस्था अनुसार सेती नदीको खोँच, भूकम्प, बाढी र पहिरोको जोखिममा ध्यान दिनेछ । फेवाताल लगायतका तालमा डुबेका व्यक्तिको उद्धारमा पनि यसले सक्रियता देखाउनेछ । मेयर आचार्यका अनुसार महानगरले छरिएका स्रोत र साधनलाई एकै ठाउँबाट परिचालन गर्न यो केन्द्र बनाएको हो । यसका लागि छुट्टै स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र समेत स्थापना गरिएको छ । प्राकृतिक र गैरप्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न महानगर केन्द्रित हुने उनले उल्लेख गरे ।

विपद् उद्धारका लागि सशस्त्र प्रहरी बलको प्राविधिक सहयोगमा स्वयंसेवक टोली तयार पारिएको छ । दमकल, एम्बुलेन्स, उद्धार टोली र राहत सामग्रीको समन्वय अब एउटै केन्द्रबाट हुनेछ । आचार्यले समग्र पोखराको हितलाई हेरेर काम गरिरहेको बताए । महानगरले बाढी, पहिरो र डुबानको जोखिमबारे वैज्ञानिक नक्सांकन गरेको छ ।

सोही आधारमा विकासका काम अघि बढाइएको छ । महानगरका ३३ वटै वडामा वडास्तरीय विपद् व्यवस्थापन समिति गठन गरिएको छ । स्थानीय समुदायलाई नै पहिलो प्रतिकार्यकर्ताका रूपमा तयार पारिएको छ । सबै वडाले विपद् व्यवस्थापनका लागि १० प्रतिशत बजेट छुट्याएका छन् । आचार्यले साविक लेखनाथको भवन रहेको ठाउँमा पनि यस्तै केन्द्र खोल्ने योजना सुनाए ।

यो वर्ष महानगरले मनसुन र आगलागीका ६७ घटनाका पीडितलाई राहत दिएको छ । यसबाट १ सय २७ जना व्यक्ति तथा परिवार लाभान्वित भएका छन् । केन्द्रले अब खोज तथा उद्धार सामग्री भण्डारण गर्नेछ । साथै नगर प्रहरी र स्वयंसेवकलाई तालिम दिने काम पनि गर्नेछ । यसका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, रेडक्रस र सामाजिक संघसंस्थासँग समन्वय गरिने आचार्यले बताए ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले पोखरालाई भौगोलिक रूपमा जोखिमयुक्त क्षेत्र भनिन् । उनले सेतीको खोँच र तालतलैयाका कारण यहाँ जोखिम बढी भएको बताइन् । शर्माले विपद् व्यवस्थापनका लागि तीनै तहका सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिइन् ।

उनले यस केन्द्रलाई विपद् व्यवस्थापनको पूर्व अभ्यास र तालिम केन्द्रका रूपमा विकास गर्न सुझाव दिइन् । विपद्का लागि बजेट कम हुने गरेको भन्दै उनले छुट्टै कोष खडा गर्न आग्रह गरिन् । विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र सुरक्षित पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

महानगरका वरिष्ठ इन्जिनियर लक्ष्मी गौतमले भवन निर्माणको खर्चबारे जानकारी दिए । ५ करोड २१ लाख २२ हजार ८७६ रुपैयाँको लागतमा यो बहुउद्देश्यीय भवन बनेको हो । यहाँ नगर प्रहरी र दमकल कर्मचारीको आवास क्षेत्र पनि छ । आगामी दिनमा यहाँ बोरिङ गरेर खानेपानीको व्यवस्था गरिने उनले बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले पोखरालाई उत्थानशील सहर बनाउने लक्ष्य रहेको उल्लेख गरे । महानगरको कार्यपालिका मातहत रहने विपद् व्यवस्थापन शाखा र कार्यकारी समितिले जोखिम मूल्यांकन र राहत वितरणको काम गर्ने उनले बताए ।

नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले यसलाई अध्ययन केन्द्रका रूपमा विकास गर्न सुझाव दिइन् । जिल्ला विपद् व्यवस्थापन समितिका १० क्लस्टर मध्ये रेडक्रसले अस्थायी आवास र गैरखाद्य सामग्री व्यवस्थापनमा काम गर्ने उनले जानकारी दिइन् । रेडक्रसले पनि विपद् सिकाइसहितको गोदामघर निर्माण गरेको उनले बताइन् ।

कार्यक्रममा निर्माण व्यवसायी सिद्धबाबा निर्माण सेवाका प्रोपाइटर थानप्रसाद श्रेष्ठलाई सम्मान गरियो । कार्यक्रममा महानगरका प्रवक्ता एवम् पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिना र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले पनि बोलेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: