पोखरामा अन्तर्राष्ट्रिय वेलनेस दिवस; सन् २०२७ लाई ‘वेलनेस वर्ष’ मनाउने घोषणा

Share:

पोखरा । नेपालले संयुक्त राष्ट्र संघमा गरेको सफल कूटनीतिक पहलको प्रतिफल स्वरूप प्राप्त ‘अन्तर्राष्ट्रिय वेलनेस दिवस’ पहिलो पटक पर्यटकीय नगरी पोखरामा भव्य रूपमा मनाइएको छ।

पोखरा एग्रो टुरिजम एकेडेमी एन्ड रिसर्च सेन्टर (पार्क) र मेडिकनेक्ट पोखराको संयुक्त आयोजनामा भएको यो कार्यक्रमले नेपाललाई विश्वव्यापी स्वास्थ्य र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने ऐतिहासिक ढोका खोलेको छ।

गत मार्च ११ मा संयुक्त राष्ट्र संघको महासभाले नेपालको प्रस्तावलाई पारित गर्दै अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस दिवसका रूपमा मान्यता दिएको थियो। ४० भन्दा बढी देशको समर्थनमा प्राप्त यो उपलब्धि नेपालका लागि ठूलो कूटनीतिक विजय भएको कार्यक्रममा जानकारी दिइयो।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अब साहसिक पर्यटनमा मात्र सीमित नरही आत्मिक शान्तिका लागि विश्वकै पवित्र स्थल बन्ने बताए। पोखराको प्राकृतिक सम्पदालाई विश्वस्तरीय वेलनेस सेवासँग जोडेर अगाडि बढ्ने उहाँको प्रतिबद्धता थियो। यस्तै, फेवाताल र अन्नपूर्ण हिमशृंखलाको सामीप्यलाई ‘ब्लु–ग्रीन’ थेरापीको प्राकृतिक प्रयोगशालाका रूपमा विकास गर्ने लक्ष्य समेत लिइएको छ।

विश्व बजारमा वेलनेस पर्यटनको आकार सन् २०३० सम्म करिब २०४ खर्ब रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ। एक वेलनेस पर्यटकले सामान्य पर्यटकको तुलनामा १७८ प्रतिशत बढी खर्च गर्ने तथ्यांक छ। यही उच्च आर्थिक सम्भावनालाई मध्यनजर गर्दै नेपालले सन् २०२७ लाई ‘वेलनेस वर्ष’ का रूपमा मनाउने रणनीति अघि सारेको पार्क नेपालका अध्यक्ष किशोरदत्त बरालले बताए।

मेडिकनेक्ट पोखराका अध्यक्ष डा. विष्णुप्रसाद भुसालले वेलनेस पर्यटनले नेपाली युवाहरूका लागि योग, प्राकृतिक चिकित्सा र प्रांगारिक खेतीमा उच्च नाफामूलक रोजगारी सिर्जना गर्ने उल्लेख गर्नुभयो। कार्यक्रमको अवसरमा पार्क नेपाल र मेडिकनेक्टले ७ बुँदे संयुक्त घोषणापत्र जारी गरेका छन्, जसमा एग्रो-वेलनेस मोडेल, ‘फार्म टु टेबल’ अवधारणा, र ‘वेलनेस भिसा’ जस्ता नयाँ योजनाहरू समावेश छन्।

पोखरा-१३ स्थित पार्क नेपालको फार्ममा आयोजित ३ दिने आवासीय कार्यक्रममा स्वदेश तथा विदेशका विज्ञहरूले योग र वेलनेस टुरिजमबारे मन्थन गरिरहेका छन्। अब नेपालले ‘साहसिक पर्यटन’ बाट एक कदम अघि बढेर विश्वलाई ‘निको हुन’ नेपाल आउन आमन्त्रण गर्ने नयाँ सोच अघि सारेको छ।

कमेन्ट गर्नुहोस्
Share: