
पोखरा । विश्वव्यापी रुपमा बालबालिकामा जन्मजात देखिने अटिजम रोग नभएर फरक अवस्था भएको र यसलाई सोहीअनुसार बुझ्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । कास्कीको पोखरा महानगरपालिका १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा सञ्चालित अटिजम श्रोत केन्द्रका सहजकर्ता र अभिभावकका लागि सुरु गरिएको अटिजम बुझाइ तथा व्यवस्थापन तालिमका अवसरमा वक्ताहरुले यस्तो बताएका हुन् ।
श्रोत केन्द्रका शिक्षक, सहजकर्ता, आया र अभिभावकलाई तालिम दिई प्रत्येक विद्यार्थीको अटिजमको अवस्थाबारे परीक्षण गरिने भएको छ । उक्त परीक्षणको रिपोर्टका आधारमा उनीहरुको सिकाइ र पढाइको व्यवस्था गर्ने तालिमको मुख्य लक्ष्य रहेको प्रधानाध्यापक अर्जुन कँडेलले जानकारी दिए ।
पोखरा महानगरपालिका वडा नं. १७ की वडाध्यक्ष राधिका शाही योगीले अटिजम भएका बालबालिकाको समस्या समाधान गर्न र समावेशी शिक्षाको अधिकार सुनिश्चित गर्न महानगरले अटिजम श्रोत कक्षा सञ्चालन गरेको बताइन् । यो कक्षाको निरन्तरताका लागि व्यवस्थापन समिति, शिक्षा क्षेत्र र अभिभावक उत्तिकै सचेत हुनुपर्नेमा उनले जोड दिइन् ।
पाँच दिनसम्म चल्ने उक्त तालिममा ५० जनाको सहभागिता रहेको छ । तालिममा अटिजम भएका बालबालिकासँग व्यवहार गर्ने तरिका, उनीहरुको आवश्यकता पहिचान गर्ने उपाय तथा घर र विद्यालयमा अपनाउनुपर्ने सहजीकरण विधिका बारेमा प्रशिक्षण दिइने प्रशिक्षक प्रिज्मा थापाले जानकारी दिइन् ।
सरकारी स्तरबाट अटिजम सम्बन्धी कक्षा सञ्चालन हुनु विद्यार्थी र अभिभावक दुवैका लागि ठूलो सहयोग भएको प्रशिक्षक थापाको भनाइ छ । अटिजम भएका बालबालिकालाई कम्तीमा प्रत्येक दिन ५ घण्टा विशेष ध्यानसहित अभिभावकको अलग वातावरणमा राख्दा सिकाई प्रभावकारी हुने विश्वास उनले व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद बास्तोलाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा अटिजम श्रोत केन्द्रका इन्चार्ज कमलप्रसाद आचार्य लगायतले अटिजमका समस्या र समाधानका उपायबारे चर्चा गरे ।
